थाइल्याण्ड र हमासबीच इरानमा बन्धकबारे वार्ता

थाई अधिकारीहरूले प्यालेस्टिनी आतंकवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् । 

वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए । भेटमा हमास समूहका सदस्यले थाई बन्धकलाई उचित समयमा रिहा गरिने बचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैङ्ककमा पत्रकारहरूसँग बताएका छन् ।
    
इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सय मानिसको ज्यान गएको थियो । हमासले २ सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो । जवाफमा इजरायली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

थाई संसद्का अध्यक्षद्वारा नियुक्त तीन सदस्यीय वार्ता टोलीको नेतृत्व गर्ने अरिपेनले इरानमा हमासका अधिकारीहरूसँग दुई घन्टा बैठक बसेको जानकारी दिए । ‘उनीहरूले हाम्रो चिन्तालाई स्वीकार गरेका छन्, थाइल्याण्डले मुस्लिम समुदायलाई दया र लाभ देखाएको छ भन्ने उनीहरूलाई थाहा छ, उनीहरू थाइल्याण्डलाई सम्मान गर्छन्’, अरिपेनले भने । 

प्रधानमन्त्री श्रेथा थाभिसिनले थाई बन्धकहरूलाई स्वदेश फर्काउन कडा मिहिनेत गरिरहेको बताएका छन् । साथै विदेशमन्त्रीले यसै साता कतार र इजिप्टसँग कुराकानी गरेका छन् । 

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले खाडी क्षेत्रको स्थितिको ‘जटिलता’ भए पनि बन्धकहरूलाई मुक्त गराउने प्रयासलाई अगाडि बढाइरहेको बताए ।

प्रधानमन्त्री थाभिसिनले बुधबार राति इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गरेका थिए । ‘उहाँले मलाई थाई बन्धकहरूको तुरुन्त सहयोगका लागि सक्दो प्रयास गरिने बताउनुभएको छ,’ प्रधानमन्त्री थाभिसिनले भने ।  



नेतान्याहुको कार्यालयले भने इजराइलका सबै बन्धकलाई मुक्त गराउन सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री थाभिसिनलाई आश्वासन दिएको बताएको छ । 



  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १३:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया