टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो

टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजराइलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै उसले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको छ । अंकाराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो ।

प्यालेस्टिनी सहयोगी टर्कीले गत महिना इजराइल–हमास युद्ध सुरु हुँदासम्म इजराइलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो । तर, लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको संख्या बढ्दै गएसँगै इजरायल र उसका पश्चिमी समर्थक विशेषगरी अमेरिका दुवैविरुद्ध टर्कीको स्वर कडा भएको छ । 

‘गाजामा सर्वसाधारणविरुद्ध इजराइलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका लागि फिर्ता बोलाइएको छ,’ टर्कीको विदेश मन्त्रालयले भनेको छ । 

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका लागि नेतान्याहुलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहर गरेको बताए । ‘नेतान्याहु अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनुभएन, हामीले उहाँलाई खारेज गरेका छौँ,’ उनले भने । 

इजरायलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अन्य क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजराइली विदेश मन्त्रालयले गत साताको अन्त्यमा इजराइल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अंकारासँगको सम्बन्धलाई ‘पुनर्मूल्यांकन’ गरिरहेको बताएको थियो । 

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्ण रूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताए । ‘कूटनीतिक सम्बन्धलाई सम्पूर्ण रूपमा तोड्न सम्भव छैन, विशेषगरेर अन्तर्राष्ट्रिय कूटनीतिमा,’ उनले भने । 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार २२:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया