बेलायतमा ब्रेक्जिट संकट : अलगिने मिति तीन महिना पर सार्न प्रधानमन्त्रीले इयुलाई लेखिन् पत्र

लन्डन– बेलायती प्रधानमन्त्री टेरेसा मेले युरोपियन युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को मिति ३० जुनसम्म धकेल्न अनुरोध गर्दै युरोपियन युनियनलाई चिठी लेखेकी छिन् । 

बुधबार संसद्को नियमित साप्ताहिक सवाल–जवाफमा प्रधानमन्त्री मेले आफूले इयु काउन्सिलका प्रेसिडेन्ट डोनल्ड टस्कलाई पत्र पठाएको खुलासा गरिन् । 

संसद्को तल्लो सदन हाउस अफ कमन्सका सांसदहरुलाई संबोधन गर्दै प्रधानमन्त्री मेले यो प्रस्ताव इयुले स्वीकार गरे आफूले संसद्मा ब्रेक्जिट सम्झौताबारे तेस्रो मतदानको तयारी गर्ने बताइन् । 

यसअघि, प्रधानमन्त्री मेले तयार पारेको ब्रेक्जिट सम्झौताको प्रस्ताव दुईपटक संसद्बाट अस्वीकृत भइसकेको छ । 

छोटो समय बढाउनका लागि प्रस्ताव गरेकोबारे प्रकाश पार्दै प्रधानमन्त्री मेले ब्रेक्जिट लामो समय लम्ब्याउनेमा कसैको इच्छा रहन्छ भन्ने आफूलाई विश्वास नरहेको बताइन् । किनकि, अझै लामो समय इयुमा रहनुको अर्थ यसै वर्ष हुन लागेको इयुको निर्वाचनमा बेलायत सहभागी हुनु हो । 

ब्रेक्जिटलाई ३० जुनभन्दा पर धकेल्न आफूले कुनै तयारी नगरेको उनले खुलाइन् । 



सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमत संग्रहमा बेलायती जनताले इयुबाट अलग हुने पक्षमा मतदान गरेका थिए । ब्रेक्जिटको मिति मार्च २९ लाई तोकिएको थियो । 

ब्रेक्जिटको मिति ३० जुनलाई सार्न इयुका सबै २७ सदस्य राष्ट्रको सहमति चाहिन्छ । यसका लागि इयु सदस्य राष्ट्रका नेताहरुलाई भेट्न प्रधानमन्त्री मे भोलि ब्रसेल्स जाँदै छिन् ।



हाउस अफ कमन्सका विपक्षी सांसद्हरुले प्रधानमन्त्री मेमाथि देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन् । बेलायती संसद् विनासम्झौता इयुबाट अलग हुन नहुने पक्षमा छ, र प्रधानमन्त्री मेको सम्झौता प्रस्ताव पनि स्विकारिरहेको छैन । यसले प्रधानमन्त्री मेको मुस्किल बढाइरहेको छ । 

  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार २१:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया