टिकटक बन्दको विरोधमा सेलिब्रेटी, माइतीघरमा टिकटकरको प्रदर्शन

सामाजिक सञ्जाल टिकटकले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते ‘टिकटक’ बन्द गर्ने निर्णय गर्‍यो । सरकारको उक्त निर्णय पछि टिकटक नियमन गर्नुको साटो बन्द नै  गरेको भन्दै विरोध बढ्यो । 

टिकटक विरोधको बन्दमा अदालतमा मुद्दा मात्र परेको छैन, अन्य सामाजिक सञ्जालदेखि सडकसम्म चौतर्फी विरोधसमेत हुँदै आएको छ । यस्तो स्थितिमा नेपालका अधिकांश सेलिब्रिटीहरू विरोधमा उत्रिएका छन्। उनीहरूले सामाजिक सञ्जाल मार्फत टिकटक बन्द गरिएकोमा आपत्ति जनाइरहेका छन् ।

मनिला जोशी, नीति शाह, समृद्धि राई, नम्रता श्रेष्ठ, सदीक्षा श्रेष्ठ लगायतका मोडेल, मिस नेपाल तथा नायिकाहरूले टिकटक किन आवश्यक छ भन्ने तर्क अघि सार्दै सरकारसमक्ष टिकटक बन्द फिर्ता लिन आग्रह गरेका छन् । 

कोभिड–१९ को अप्ठ्यारो परिस्थितिमा टिकटकले रमाउने र मनोरञ्जन गर्ने माध्यम बनाएको र यसले धेरै प्रतिभाहरूलाई जन्माएकोले नबिर्सन आग्रह गर्दै उनीहरूले भनेका छन्, ‘टिकटक बन्द गर्नु भनेको मानिसलाई स्वतन्त्र हुनुबाट वञ्चित गर्नु हो ।’ टिकटकमाथि पूर्णविराम लगाउनुभन्दा कडा नीति र सामुदायिक नीति निर्देश गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ । 

यसैबीच सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयका विरुद्ध टिकटक प्रयोगकर्ताहरू आन्दोलित बनेका छन् । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।



गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत पीडित देखिएको उनीहरूले उल्लेख गरेका छन् ।



उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन नभई फेसबुकमा लगाउनु पर्नेसमेत बताएका छन् । भारतले राजनीतिक हिसाबले टिकटकलगायत थुप्रै चिनियाँ एपहरूमा पनि प्रतिबन्ध लगाएको भन्दै नेपालमा टिकटक सयौँ नयाँ व्यवसायीको व्यापार प्रवर्द्धन गर्ने माध्यम बनेको उनीहरूले बताएका छन् ।

उनीहरूले हात दुख्यो भन्दैमा हात काटेर फाल्ने हैन त्यसको उपचार गर्नुपर्ने भन्दै टिकटक वा अन्य सामाजिक सञ्जालहरूलाई प्रतिबन्ध हैन नियम बनाएर त्यसअनुसार नेपालमा चल्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् । 

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भनिए पनि त्यसलाई हेर्न नभ्याइनेमा राखिएको छ ।  टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । 

  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार १४:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया