२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

टिकटक बन्दको विरोधमा सेलिब्रेटी, माइतीघरमा टिकटकरको प्रदर्शन

सामाजिक सञ्जाल टिकटकले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते ‘टिकटक’ बन्द गर्ने निर्णय गर्‍यो । सरकारको उक्त निर्णय पछि टिकटक नियमन गर्नुको साटो बन्द नै  गरेको भन्दै विरोध बढ्यो । 


टिकटक विरोधको बन्दमा अदालतमा मुद्दा मात्र परेको छैन, अन्य सामाजिक सञ्जालदेखि सडकसम्म चौतर्फी विरोधसमेत हुँदै आएको छ । यस्तो स्थितिमा नेपालका अधिकांश सेलिब्रिटीहरू विरोधमा उत्रिएका छन्। उनीहरूले सामाजिक सञ्जाल मार्फत टिकटक बन्द गरिएकोमा आपत्ति जनाइरहेका छन् ।



मनिला जोशी, नीति शाह, समृद्धि राई, नम्रता श्रेष्ठ, सदीक्षा श्रेष्ठ लगायतका मोडेल, मिस नेपाल तथा नायिकाहरूले टिकटक किन आवश्यक छ भन्ने तर्क अघि सार्दै सरकारसमक्ष टिकटक बन्द फिर्ता लिन आग्रह गरेका छन् । 

कोभिड–१९ को अप्ठ्यारो परिस्थितिमा टिकटकले रमाउने र मनोरञ्जन गर्ने माध्यम बनाएको र यसले धेरै प्रतिभाहरूलाई जन्माएकोले नबिर्सन आग्रह गर्दै उनीहरूले भनेका छन्, ‘टिकटक बन्द गर्नु भनेको मानिसलाई स्वतन्त्र हुनुबाट वञ्चित गर्नु हो ।’ टिकटकमाथि पूर्णविराम लगाउनुभन्दा कडा नीति र सामुदायिक नीति निर्देश गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ । 



यसैबीच सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयका विरुद्ध टिकटक प्रयोगकर्ताहरू आन्दोलित बनेका छन् । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत पीडित देखिएको उनीहरूले उल्लेख गरेका छन् ।



उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन नभई फेसबुकमा लगाउनु पर्नेसमेत बताएका छन् । भारतले राजनीतिक हिसाबले टिकटकलगायत थुप्रै चिनियाँ एपहरूमा पनि प्रतिबन्ध लगाएको भन्दै नेपालमा टिकटक सयौँ नयाँ व्यवसायीको व्यापार प्रवर्द्धन गर्ने माध्यम बनेको उनीहरूले बताएका छन् ।

उनीहरूले हात दुख्यो भन्दैमा हात काटेर फाल्ने हैन त्यसको उपचार गर्नुपर्ने भन्दै टिकटक वा अन्य सामाजिक सञ्जालहरूलाई प्रतिबन्ध हैन नियम बनाएर त्यसअनुसार नेपालमा चल्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् । 

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भनिए पनि त्यसलाई हेर्न नभ्याइनेमा राखिएको छ ।  टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । 

  • प्रकाशित मिति : ४ मंसिर, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया