दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ ।  

त्यस्तै, ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको बैठकले राष्ट्रिय भाषा साहित्यतर्फ श्रेष्ठलाई र राष्ट्रिय पत्रकारितातर्फको पुरस्कार झालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए । 

उनका अनुसार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको दुवै पुरस्कारको राशि क्रमशः ५१ हजार र २५ हजार रुपैयाँ तथा प्रमाणपत्र रहेको छ । नेपाली  साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिइएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले जानकारी दिए ।

उक्त पुरस्कार यसअघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरु क्रमशः  प्राडा गोविन्दराज भट्टराई, प्रा.डा. अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, शङ्करप्रसाद कोइराला,  प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मीलाई र पत्रकारिता पुरस्कारबाट पत्रकारहरू क्रमशः हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल, भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइएको छ । उक्त पुरस्कार वि.सं २०७३ देखि नियमित प्रदान गरिँदै आइएको प्रतिष्ठानले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १३:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया