कहिले फर्किँदैछन् प्रचण्ड अमेरिकाबाट ?

काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छिटो नेपाल फर्किन उनीनिकट नेताहरुले सन्देश पठाउन थालिसकेका छन् । 

उनी आइतबार पत्नी सीताको उपचारका लागि नेपालबाट अमेरिका प्रस्थान गरेका थिए । अहिले सीता दाहालको उपचार भइरहेकाले तत्काल प्रचण्ड नेपाल फर्किने पक्षमा छैनन् । तर, पार्टी एकता र सरकारमा मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकटले आफूखुसी लबिइङ गर्न थालिसकेको भन्दै प्रचण्डनिकट नेताहरुले उनलाई छिटो फर्किन सन्देश पठाएका छन् ।

प्रचण्डनिकट एक नेताले भने, ‘हो, उहाँ अहिले त्यहाँ बाध्यात्मक परिस्थितिमा हुनुहुन्छ तर यहाँ उहाँको अभाव खड्किसकेको छ । उहाँ कहिले आउने भन्ने ठेगान नभएकाले सबै कुरा मिलाएर छिटो आउनु भन्ने सन्देश पठाएका हौँ, तर यसको अर्थ उहाँ आजै वा भोलि नै यहाँ आउनु पर्यो, यहाँ सबै कुरा बिग्रिसक्यो भन्या चाहिँ होइन ।’

यता, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रचण्ड कहिले फर्किन्छन् भन्ने थाहा छैन । ‘थाहा नै छैन,’ उनले फरक धारसँग कुरा गर्दै भने, ‘अबको एक दुई दिनमा बल्ल त्यो विषयमा थाहा हुन्छ ।’

अमेरिका प्रस्थानअघि स्वयं प्रचण्डले जतिसक्दो छिटो फर्किने बताएका थिए । तर, उनी फर्किने समय तय भइसकेको थिएन । पत्नी सीता दाहालको उपचारका लागि अलिक बढी समय लाग्ने भएमा छोरी गंगाको जिम्मामा छोडेर फर्किने प्रचण्डले त्यति बेला बताएका थिए ।  

अमेरिकाको जोन हकिङ्स अस्पतालमा सीता दाहालको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको चेकअप भइरहेको छ । सीता दाहाललाई भर्ना गरेर अस्पतालमा उपचार नगरिएको नभई सामान्य चेकजाँच मात्रै गरिएको सापकोटाले जानकारी दिए । 



सापकोटाले भने, ‘भर्ना गरिएको छैन । चेकअप गर्न जाने– आउने गर्नुभएको छ ।’ 

यस सम्बन्धी रोगको यो अनुसन्धान केन्द्रसमेत त्यहाँ रहेको र सीता दाहालले पटक–पटक उपचारका लागि जाने भने पछि जान लागेको प्रचण्डले पत्रकारसम्मेलन मार्फत् जानकारी गराएका थिए । यसका लागि अमेरिकी राजदूतले पनि सहजीकरण गरेको उनले बताएका थिए । 



प्रचण्ड यस अघि नै अमेरिका जाने तयारीमा थिए । तर, भनेजुएलामा भएको राजनीतिक उथलपुथलमा उनले अमेरिकाको विरोध गर्दै विज्ञप्ति जारी गरिदिए । त्यही कारण उनको अमेरिका जाने कार्यक्रम केही समयका लागि स्थगित भएको थियो ।

  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १९:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया