कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

कार्तिक नाच सुरु भएको ८ औँ दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । मंसिर २ गतेबाट यस पटक सुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो ।  

वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ । यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक सुरु गरेको इतिहास छ । कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । 

यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको सुरुवात गरेका थिए । स्थानीय किरण चित्रकारले कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरु द्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा सुरु भएको बताए ।

उनले सुरुवाती दिनमा ५ दिनबाट सुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गर्नुभएको बताइन्छ । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरू १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्ने गरी थालनी गरिएको उनले भने । एक महिनाभर मनाउने गरिए पनि विभिन्न समयमा विभिन्न कारणले गर्दा मनाउन नसकिएको चित्रकारको भनाइ छ ।

उनले भने, ‘कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरु द्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा सुरु भएको हो । सुरुवाती दिनमा ५ दिनबाट सुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गर्नुभयो, पछि श्रीनिवासका पनि छोरा योगनरेन्द्र मल्लले यसमा अरू १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्ने गरी थालनी गरियो । कार्तिक महिनाभर प्रदर्शन गर्ने भएकाले यस नाचलाई कार्तिक नाच भनिन्छ । श्रीकृष्ण, नृसिंह लगायत केहीमा पहिलाबाट नै चली आएका श्रेष्ठभित्रका पनि विभिन्न जातिका मानिसहरू रहे पनि अन्य नाच भने श्रेष्ठहरू सबैले नाच्ने गरेका छन् । तर हामी पहिलाबाट नै चलिआएको जातअनुसार नचाउने प्रयासमा छौँ ।’



कार्तिक नाच सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ । तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात् महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ ।



परापूर्व कालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ । यस वर्ष मंसिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला (शितज्वर/विषमज्वर युद्ध, महादेव/कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाइनेछ ।  

  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार ११:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया