विष्णु पौडेल भन्छन्- समृद्धि र जनताको खुसीका निम्ति एमालेको हातमा मुलुकको बागडोर आउनुपर्छ
‘राजनीतिमा निर्णायक हैसियत स्थापित गर्न मध्यपहाडी लोकमार्ग अभियान’
फाइल तस्बिर

नेकपा एमालेले १४ मंसिरदेखि २ पुससम्म मध्यपहाडी (पुष्पलाल) लोकमार्ग लक्षित महाकाली–मेची अभियान सुरु गर्दैछ । मध्य पहाडी लोकमार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई प्रभावकारी बनाइ जनतासँग जोडिने अभियानमा एमाले लागेको हो ।

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ता लागि परेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रीय कमिटी, पोलिटब्युरोका सदस्यहरूका साथै जनसंगठनका नेता/कार्यकर्ताहरू रहनेछन् ।

यस यात्रालाई नेकपा एमालेले संकल्पको यात्राका रुपमा लिएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए । उनले नेकपा एमालेबाहेकका राजनीतिक दलहरूले मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैनन् भन्नेकुरा स्पष्ट भइसकेको बताए ।

मुलुकको समृद्धि र जनताको खुसीका निम्ति नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्ने उनको भनाइ छ । उपाध्यक्ष पौडेलले नेकपा एमालेको नेतृत्वमा मध्य पहाडी लोकमार्गमा सुरु भएका विकासका काम सरकार परिवर्तन भएसँगै अलपत्र परेकाले ती विकासका आयोजना पनि प्रभावकारी रुपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए ।

उनले पुष्पलाल राजमार्ग (लोकमार्ग) को परिकल्पनाकार नेकपा एमाले भएकाले यस क्षेत्रमा पूर्वाधारको निर्माणसँगै हुने विकासक्रममा महत्वपूर्ण योगदान पुग्ने गरी अभियान सञ्चालन गर्न लागेको बताए । पौडेलले नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्ने र मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्नसक्छ भन्ने सन्देश एमालेले यस अभियानअन्तर्गन दिन खोजेको बताए ।

‘नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्दछ भन्ने मान्यता हो । त्यो नेकपा एमालेका निम्ति होइन, मुलुकको समृद्धिका निम्ति, जनताको खुशीका निम्ति यो आवश्यक छ । यस उद्देश्यका साथमा मध्यपहाडी क्षेत्रमा जुन प्रकारको विकासको अभियान नेकपा एमाले नेतृत्वको सरकारले खासगरी हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले जे स्थान दिएर सुरु गरेको थियो, ती अभियानहरू सरकार परिवर्तन भएसँगै अलपत्र परेका छन्,’ पौडेलले भने ।



स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी एमालेले अभियान अघि बढाउने उनको भनाइ छ । मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाइँसराई, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसाबले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्ने पौडेलले बताए ।

‘हामी ती विकासका आयोजनाहरू पनि प्रभावकारी रुपमा अघि बढाउन चाहन्छौं । मुख्यरूपमा पुष्पलाल राजमार्ग (लोकमार्ग) यसको परिकल्पनाकार नेकपा एमाले हो । हामीले के सोचेका हौँ भने मध्यपहाडी रिजनमा यस प्रकारको पूर्वाधार निर्माणले त्यहाँ कनेक्टिभिटीका दृष्टिकोणले सहज हुन्छ । उत्पादन अभिवृद्धि गर्नका लागि त्यसले योगदान पुर्‍याउँछ,’ उनले भने, ‘खासगरी माइग्रेसनको जुन चाप रहँदै आएको छ त्यसलाई रोक्नका निम्ति पनि त्यसले महत्वपूर्ण योगदान गर्दछ । देशको समग्र विकासका निमित्त त्यसले योगदान दिन्छ भन्ने सोचको साथमा हामीले पुष्पलाल लोकमार्गको परिकल्पना गरेका हौँ ।’



पौडेलले एमालेले जनताको हित र राष्ट्रको हितलाई हेरेर अभियान सञ्चालन गर्ने बताए । उनले जनतासँगको पार्टीको सम्बन्ध कमजोर नहोस् भन्ने ध्यानमा राखेर आफूहरूले अभियान सञ्चालन गर्न लागेको बताए । उनले जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक हैसियत स्थापित गर्ने हिसावले एमाले अघि बढिरहेको बताए ।

पौडेलले नेकपा एमालेको विरुद्धमा गरिएको घेराबन्दीको कोसिसलाई जनताको साथ, समर्थन र जनताको संगठित शक्तिको बलमा हाम्राविरुद्धको घेराबन्दी, प्रहारलाई नाकाम बनाउने बताए । २०८४ सालको निर्वाचन स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नेकपा एमालेको नेतृत्वमा तीन तहकै सरकार निर्माण नभएसम्म यो यात्रा निरन्तर अघि बढ्ने र सरकार निर्माणपछिका दिनमा नेतृत्वसहितको देश विकासको महाअभियान हुने बताए ।   

‘नेकपा एमाले जनताको साथ समर्थनपूर्ण रूपमा अघि बढ्छ । दुनियाँको कुनै तागतले एमालेको गति र अग्रगतिलाई रोक्न सक्दैन । यो यात्रामा हामी खासगरी २०८४ सालको निर्वाचन स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नेकपा एमालेको नेतृत्वमा तीन तहकै सरकार निर्माण नभएसम्म हाम्रो यो यात्रा निरन्तर अघि बढ्छ । निर्वाचनको परिणामपछि फेरि हामी राष्ट्र निर्माणको महाअभियानमा सरकारको नेतृत्व गर्दै त्यस ढंगले अघि बढ्छौँ,’ पौडेलले भने । 

उनले यो अभियान मिसन २०८४ को एउटा अभियानका रूपमा रहेको बताए । उनले ०८४ को निर्वाचन नतिजालाई अनुकूल बनाउनका लागि सहयोग पुग्ने बताए । पौडेलले माले जनतासँग जोडिने, जनताका समस्या सुन्ने बुझ्ने, विकासका आवश्यकता,चाहनाहरूलाई ठीक ढंगले सुदृढ गर्ने र देशको विकासको जनताका समस्या समाधानको नायक नेकपा एमाले हो भन्ने कुरालाई अझ उचाइबाट स्थापित गर्ने उद्देश्य अभियानको रहेको बताए ।  

‘यो मिसन २०८४ को एउटा अभियानका रुपमा बुझ्दा पनि हुन्छ । यसले ०८४ को निर्वाचन नतिजालाई अनुकूल बनाउनका लागि यसले योगदान गर्दछ । यो एमाले जनतासँग जोडिने, जनताका समस्या सुन्ने बुझ्ने, विकासका आवश्यकता,चाहनाहरूलाई ठीक ढंगले सुदृढ गर्ने र देशको विकासको जनताका समस्या समाधानको नायक नेकपा एमाले हो भनेर जुन समाजमा स्थापित छँदैछ । त्यसलाई अझ उचाइबाट स्थापित गर्ने । यो समृद्धि यात्राको मुख्य उद्देश्य हो,’ पौडेलले भने ।

उनले एमालेका नेतृत्व तह जहाँ भए पनि राष्ट्रिय राजनीतिको मामिलामा बेखबर नहुने बताए । पौडेलले राजधानीमा एमाले हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा एमालेको दखललाई प्रभावित गर्न नसक्ने बताए ।  

‘नेकपा एमाले जहाँसुकै पुगे पनि यो अभियानका क्रममा हामी जहाँ पुगौँ, तर राष्ट्रिय राजनीतिको मामिलामा हामी बेखबर हुँदैनौँ । राष्ट्रिय राजनीतिमा हाम्रो ध्यान, चासो हुन्छ । हामीले कति बेला गर्नुपर्ने हो, त्यो गर्छौँ । राजधानीमा हामी हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा एमालेको दखललाई प्रभावित गर्छ जस्तो लाग्दैन,’ पौडेलले भने । 

उनले देश र जनताको समृद्धि नै यात्राको मुख्य उद्देश्य भएको बताए । 

  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार १०:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया