Tue, 14 Jul, 2020


सांसदको प्रश्न– प्लास्टिकको झोला व्यवस्थापन कहिले ?
फरकधार / चैत १०, २०७५

काठमाडौं– राष्ट्रिय सभामा आइतबार सांसदहरुले सरकार प्लास्टिकको झोला व्यवस्थापनमा उदासिन भएको आराेप लगाएका छन् । 



सांसद विमला राई पौडेलले जलवायु परिर्वतनमा पनि यस्ता प्लास्टिकले सहयोग गरेको भन्दै एक पटक प्रयोग गरेर फालिने प्लास्टिकका फोहोरको सबैभन्दा ठुलो कारक रहेको दाबी गरिन् ।

विश्वमा धेरै देशले प्लास्टिकका झोलालाई पहिले नै प्रतिबन्ध लगाएको बताउँदै सांसद पौडेलले नेपालले यसको व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताइन् । तर, नेपालमा २०७२ बैशाख १ देखि प्रतिबन्ध लगाउने राजपत्रमा उल्लेख गरेपनि त्यसमा सरकार उदासिन भएको आरोप लगाइन् । 

‘२०–३५ इन्च साइज र ४० माइक्रोन मोटाइ भएका प्लास्टिकका झोलाको आयात भन्डारण र प्रयोग गर्न प्रतिबन्ध लगाइएको राजपत्रमा उल्लेख छ,’ उनले भनिन्, ‘तर यो कार्यान्वयनमा आएको छैन ।’ उनले राजपत्रमा उत्पादनको विषयमा मौन रहेकोले प्रावधानभन्दा कमको उत्पादन गर्ने उद्योगलाई कारबाही वा व्यवस्थापन गर्न पनि माग गरिन् ।

कार्यान्वयन नगर्ने भए सूचना खारेज गर्ने र कार्यान्वयनमा जाने हो भने यसको नियमन गर्नुपर्ने सांसद पौडेलको भनाइ थियो । 

काठमाडौं उपत्यकामा मात्रै दैनिक १० लाख र देशैभरि २ सय ४ टन प्रतिदिन फोहोरका रुपमा यस्ता झोला प्रयोग हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले यो अवस्था कायम रहे भविष्यमा फोहोरले गर्दा टेक्ने ठाउँ नहुने दाबी गरिन् । ‘यसलाई समाधान गर्न विश्व भरिनै तीन कुरामा ध्यान दिइएको छ, रिड्युस, रिसाइकल र रियुज, यसलाई पनि ध्यान दिनुपर्छ,’ उनले भनिन् ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले २०६८ को निर्देशिकाअन्तर्गत ३० माइक्रोनभन्दा पातलो र राजपत्रमा प्रकाशन भएअनुसार काठमाडौं उपत्यकामा ४० माक्रोनभन्दा कम गुणस्तरका सामानलाई प्रतिबन्ध गर्ने भएकाले त्यसको कार्यान्वयनमा आफुहरु लागेको बताए ।  

‘कार्यान्वयन भएको छ,’ उनले भने, ‘त्यसअनुसार अहिले बढेको हो वा घटेको अनुसन्धान गर्नुपर्छ होला । तर समस्या पूर्ण रुपले हटेको होइन । बजारमा जाँदा वैकल्पिक प्रयोग बढेको छ ।’

उनले सोही नियनमको कार्यान्वयनस्वरुप १९ उद्योगलाई कारबाही र जरिवाना गरेको उल्लेख गर्दै प्लास्टिक झोलाको प्रयोग निरुत्साहित गर्न प्रचारात्मक कामहरु गरेको बताए । उनले उत्पादनलाई पनि नियन्त्रण गर्ने गरि निर्देशिका संसोधन हुन लागेको पनि बताए । 

‘रिसाइकलको लागि आवश्यक वातावरण तयार गर्ने र पुनः प्रयोग हुँदैन भने प्लास्टिक प्रयोग नहुने कुरालाई हामीले केन्द्र भागमा राखेर विधि परिमार्जन गर्ने कुरामा लागेका छाैं,’ उनले भने, ‘जलवायु परिवर्तनमा यसको सम्बन्ध हुन्छ । त्यसैले वातावरण सुधारको रुपमा हेर्दा प्लास्टिकको झोलाको प्रयोग कम गर्न थप प्रभावकारी काम गर्नुपर्छ ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्