Wed, 26 Jun, 2019


किन अरुभन्दा खुसी छन् फिनल्यान्ड, नर्वे, डेनमार्कका जनता ?
फरकधार / चैत १०, २०७५

केही दिनअघि संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले आफ्नो वर्ड ह्याप्पिनेस रिपोर्ट’मा फिनल्यान्डलाई विश्वका खुसी देशको सूचीमा पहिलो नम्बरमा राख्यो । यसका ‘नर्डिक भगिनी’हरु नर्वे, डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो, तेस्रो र चौँथो नम्बरमा परे ।



टप पाँचमा वर्षौंदेखि यिनै राष्ट्रहरु रहँदै आएका छन् । पहिलो नम्बरमा प्रायः फिनल्यान्ड, नर्वे वा डेनमार्कमध्ये एक हुन्छ । नर्डिक क्षेत्रको अर्को सदस्य स्विडेन पनि खुसी हुनेको सूचीमा त्यति पछाडि छैन । 

उत्तरी युरोप र उत्तरी एटलान्टिक क्षेत्रका पाँच देश स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क र आइसल्यान्डलाई नर्डिक राष्ट्र भनिन्छ । यो उत्तरी ध्रुवको नजिक पर्ने ज्यादै चिसो क्षेत्र हो । यहाँको मौसम त्यति सहज छैन । यो क्षेत्रको तापक्रम वर्षैभर माइनस २० डिग्रीमुनि रहन्छ । कतिपय भागले वर्षको आधाउधी दिन घामको मुखै देख्दैनन् ।

अब प्रश्न उठ्छ, यस्तो विषम वातावरणमा बस्ने जनतालाई के कुराले यति खुसी बनाइरहेको छ त ? अर्को कुरा, के यो क्षेत्रका मानिस हामीले सोचेजत्तिकै खुसी होलान् ? 

फिनल्यान्ड त्यही देश हो, जहाँ सन् १८६० को दशकमा ९ प्रतिशत जनताले भोकमरीका कारण ज्यान गुमाएका थिए । यसैलाई पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले सबैभन्दा स्थिर, स्वतन्त्र र सुरक्षित देशका रुपमा चित्रण गरिरहेका छन् । 

वर्ड ह्याप्पिनेस रिपोर्टले अमेरिकन विश्लेषण कम्पनी ग्यालपको विश्वव्यापी सर्वेक्षणको डाटा प्रयोग गरेको थियो । विश्वका मानिस आफ्ने जीवनसँग कत्तिको खुसी छन् भन्ने ग्यालपको सर्भेमाथि रिपोर्ट निर्माताहरुले प्रतिव्यक्ति आय, सामाजिक सहयोग, औषत स्वस्थ आयु, आफ्नो जीवनशैली आफैँ चुन्ने स्वतन्त्रता, समृद्धि, भ्रष्टाचारबाट मुक्ति आदि सूचकका आधारमा विभिन्न कोणबाट विश्लेषण गरेका थिए । 

खुसी हुने सूचीका अग्रपंक्तिका मुलुकहरुमा यी सूचकांकमा खासै भिन्नता छैन । त्यसैले पनि होला, पहिलो पाँच स्थानमा वर्षौंदेखि कुनै नयाँ मुलुक आएको छैन । 

यसपटकको रिपोर्टले पहिलोपटक आप्रवासीहरुको ह्याप्पिनेसलाई पनि समेट्यो । फिनल्यान्डले यो क्याटेगोरीमा पनि पहिलो स्थान पायो । यसले देखाउँछ कि, खसी समाजका संस्था तथा संयन्त्र सहयोगी हुन्छन्, जसले आप्रवासीलाई पनि उत्तिकै साथ र सहयोग दिन्छन् । गरिब र जाति, भूगोल, धर्म, सम्प्रदायका आधारमा विभाजन खोज्ने समाज खुसी हुँदैन । युद्धले गाँजेका यमन, हाइटी, सिरियाजस्ता मुलुक त यसै दुःखी हुने नै भए । 

खुसी निर्धारण गर्ने प्रमुख तत्व शारीरिक र मानसिक स्वास्थ्य हुन् । रोजगारी, आय, सामाजिक गुणस्तर र स्वतन्त्रता त्यसपछिका कारक हुन् । समृद्धि र स्वतन्त्रताका मामलामा यो क्षेत्र निकै अगाडि छ । 

सबै नर्डिक मुलुक ‘खुसी हुने’ मात्र नभई विकासका सबैजसो सूचकांकमा अब्बल छन् । यद्यपि, रिपोर्टहरुमा देखाइएजस्तै खुसी भने नहुन सक्छन् ।

ह्याप्पिनेस रिपोर्टमा पहिलो नम्बरमा परेको फिनल्यान्डका १२.३ प्रतिशत जनताले आफू संघर्षमा या समस्यामा रहेको बताएको एक अध्ययनले उल्लेख गरेको छ । जसमा १३.५ प्रतिशत युवा छन् । 

पछिल्ला अध्ययनहरुले पूरै विश्वमा ‘एक्लोपना’ एक मानसिक समस्याको रुपमा विस्तार भइरहेको देखाएका छन् । नर्डिक क्षेत्र पनि यो रोगबाट अछुतो छैन । विशेषगरी, वृद्धहरुमा देखिने यो समस्या अहिले युवा तथा बाल पिँढीमा सरिरहेको छ ।  

‘धेरैभन्दा धेरै युवा तथा बालबालिकामा ‘एक्लोपना’ बढ्दो छ, र उनीहरु मानसिक असन्तुलनको सिकार भइरहेका छन्,’ अध्येता माइकल बिर्कजिरले द गार्जियन पत्रिकालाई बताएका छन्, ‘हामी देख्दै छौँ कि यो मानसिक रोग र एक्लोपनाको प्रकोपले नर्डिक क्षेत्रलाई पनि छोएको छ ।’

डेनमार्कका १६ देखि २४ वर्षका १८.३ प्रतिशत जनताले आफू कमजोर मानसिक स्वास्थ्यस्थितिको सामना गरिरहेको बताएका छन् । यही उमेर समूहका महिलामा यो तथ्यांक २३.८ प्रतिशत छ । नर्वेमा गएको पाँच वर्षमा मानसिक स्वास्थ्य समस्याको उपचार खोज्नेको संख्या ४० प्रतिशतले बढेको छ । 

अध्ययनले विश्वकै खुसी भनिएको फिनल्यान्डमा १६ देखि २४ वर्षको उमेर समूहमा हुने कुल मृत्युको एकतिहाइ आत्महत्या भएको देखाएको छ । 

तर, यो तथ्यांक बाँकी विश्वको तुलनामा कमजोर भने होइन । यसबाट यत्ति भन्न सकिन्छ कि नर्डिक क्षेत्र हामीले सोचेजस्तो खुसी छैन, तर यसको अर्थ यो होइन कि यो क्षेत्र बाँकी दुनियाँभन्दा कम खुसी छ । 
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्