एउटै गाउँबाट निर्यात भयो साढे २ करोडको आलु

स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष २ करोड ६० लाख रुपैयाँको बिउ आलु निर्यात भएको छ । 

जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले २ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बिउ निर्यात गरेको जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् ।

गत वर्ष खानेसहित बिउ आलु सात सय टन निर्यात भएको बताए । ‘यहाँ उत्पादित आलुको बिउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, खोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका  छन्’, अध्यक्ष कँडेलले भने, ‘यीबाहेक अन्य जिल्लाका करिब ३० पालिकामा बीउ आलु निर्यात गरेका छौँ, आलुको गुणस्तर राम्रो भएकाले जातअनुसार ६५ देखि ७० टन सम्म सजिलै बिक्री भएको छ ।’

यहाँ डेढ सय हेक्टर क्षेत्रफलमा खुमल रातो, मुखल उज्ज्वल, जनकदेव, एनएस दशमलव तीन, कार्डिललगायत  राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्रले अनुमोदन गरेका आलु उत्पादिन गरिन्छ । उनले आलु उत्पादक किसान भेला भएर बर्सेनि खाने र बिउ आलुको मूल्य निर्धारण भएपछि बजारमा पठाउने बताए ।

अध्यक्ष कँडेलका अनुसार यहाँ तीन सय किलोदेखि ४० टनसम्म आलु उत्पादन गर्ने कषक छन् । स्थानीय ७१ वर्षीय कृषक ज्योतिलाल ढकालले जिमुहाँमा सिँचाइ सुविधा आएदेखि बसाइँसराइ रोकिएको बताए । उनले यहाँका सामान्य परिवारले पनि आलु र अन्य सागसब्जी उत्पादन गरेर सजिलोसँग जीवनयापन गरिरहेको दाबी गरे ।

शीतभण्डारमा प्राविधिकको काम गर्दै आएका नारायण अधिकारीले शीतभण्डार सञ्चालनपछि धेरैको जीवन फेरिएको बताए । ‘शीतभण्डार नहुँदा पोखरा, बुटवललगायतको शीतभण्डारमा महँगो मूल्यमा आलु भण्डारण गर्न लैजानुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले यहाँको शीतभण्डारमा कृषिउपज भण्डार गरेर उपयुक्त मूल्य पाउने समयमा बिक्री गर्दा धेरैलाई फाइदा भएको छ ।’ अधिकारीले शीतभण्डारमा सामान्य समस्या आए पनि ‘स्टक एसी’ भएकाले कृषि उपज नबिग्रने बताए । 



अध्यक्ष कँडेलका अनुसार यो वष सहकारीले १२ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको छ । कँडेलले यसअघिको स्थानीय सरकारले रु १० लाखको जेनेरेटर, रु १० लामा कार्यालय भवन निर्माण गरिदिएको बताए । तर, अहिलेको सरकारले कुनै पनि सहयोग नगरेको उहाँको गुनासो छ ।

नगरपालिकासँग विद्युत् महसुलमा छुट गरिदिन र नयाँ शीतभण्डारका लागि टाँड निर्माण गरिदिन कँडेलको आग्रह छ । जिमुहाँ शीतभण्डार सहकारीका रु एक करोड १८ लाख र एक करोड ५२ लाखका एकसय ५० टन क्षमताका दुई छुट्टाछुट्टै शीतभण्डार छन् । 



यहाँ आलु भण्डारका लागि छिमेकी जिल्ला पाल्पाका कृषक पनि आउने गरेका छन् । यहाँ कृषिउपज भण्डारण गर्दा सहकारीले प्रति किलोको ७ रुपैयाँ लिने गरेको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेड २०७५ सालमा स्थापना भएको हो । रासस 

  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार ९:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया