एसइईका परीक्षार्थी बटुकदेखि किरियापुत्री

बाग्लुङ– माध्यमिक तहको परीक्षा (एसइई)को आइतबार पहिलो दिन बागलुङबाट फरक क्षमता भएका २५ र किरियापुत्री एक परीक्षार्थी सामेल भएका छन् । बागलुङबाट कुल पाँच हजार ५ सय १९ परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये दुई हजार ८७४ छात्रा छन् । 

बागलुङबाट एक न्यून दृष्टियुक्त व्यक्तिसहित २५ जना विशेष क्षमता भएका र नौजना संस्कृत विद्या पढ्दै गरेका परीक्षार्थी सामेल भएका छन् । विशेष शिक्षातर्फ बागलुङको धौलागिरि बहिरा आवासीय माविबाट २४ जनाले कम्प्युटर धार विषयको परीक्षा विद्यामन्दिर केन्द्रबाट दिएको केन्द्राध्यक्ष जगन्नाथ आचार्यले बताए । 

यो वर्ष मुक्तिनाथ वेदविद्याश्रमका नौ बटुक, जनताधन माविका एक न्यून दृष्टियुक्त व्यक्ति र प्रभा मावि बोहोरागाउँका एक किरियापुत्री परीक्षामा सामेल भएका छन् । प्राविधिक विद्यातर्फ १ सय ६८ विद्यार्थीले सदरमुकामकै विद्यामन्दिर माविबाटै परीक्षा दिएका छन् । 

उनीहरुले कम्प्युटर, कृषि, भेटनरी र सिभिल इन्जिनियरिङको परीक्षा दिएका हुन् । परीक्षालाई मर्यादित बनाउनका लागि कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ । 

त्यसका लागि माध्यामिक परीक्षा समन्वय समितिले ३३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । ती संहिता पालना नगरेमा आवश्यक कारबाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरेमा शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महिनासम्म कैद र रु एक लाखसम्म जरिवाना गराउन सकिने चेतावनी दिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले बताए । 

उपाध्यायका अनुसार परीक्षामा ३१ केन्द्राध्यक्ष, ३९ सहायक केन्द्राध्यक्ष, ५६ सहायकसहित २६८ निरीक्षक खटिएका छन् । सबै केन्द्रमा गरी ४ सय ६५ सुरक्षाकर्मीलाई परिचालन गरिएको पनि उनले बताए । 





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १५:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया