हुम्लामा हिमपातले जनजीवन प्रभावित, लिमी आवतजावत बन्द
फाइल तस्बिर

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ ।  

हिउँदयाममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् भने साथै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएका छन् । हिल्सामा बिओपी स्थापना भएसँगै केही वर्षअघिदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिँदै आएको छ ।

पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । जिल्लामा यतिबेला बिहान र रातिको समय तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । चिसोमा सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हिमपातले लिमी आवतजावत बन्द

गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ स्थित लिमी आवतजावत बन्द भएको छ । हिमालपारिको गाउँले चिनिएको लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको जनाइएको छ ।  लिमीका स्थानीय निमा तामाङले  बाक्लो हिमपातको कारण लिमी आवतजावत बन्द भएको जानकारी दिइन् । 

उनका अनुसार लिमी जाने ४ हजार ६ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएको छ ।  लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम फोन भएको छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेकाले जानकारी दिए ।



लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक बन्दाबन्दीमा परेका छन् । सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख–जेठसम्म लिमी आवत जावतमा समस्या हुने जनाइएको छ । हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । रासस 



  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १०:६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया