किन उठ्दै छन् एनसेल छानबिन समितिले काम गर्नै नसक्ने आशंका ?

पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले सरकारले गठन गरेको एनसेलको सेयर खरिद, बिक्री प्रकरण छानबिन समितिले विश्वसनीय ढंगले काम गर्नेमा आशंका व्यक्त गरेका छन् । 

आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै उनले छानबिन समितिको विश्वसनीयताप्रति आशंका व्यक्त गरेका हुन् । उनले सरकारको वृत्तिविकास खाएको पदाधिकारीले काम गर्न सक्नेप्रति प्रश्न उठाए । उनले सरकारले गठन गरेको छानबिन समितिले काम नगर्ने बताए । सरकारले आफ्नो पक्षमा ल्याउनका लागि मात्रै समिति गठन गरेको उनको भनाई छ ।

उनी भन्छन्, ‘एनसेल लगायतका अगाडीका छन् नि त्यो करको बारेमा कुरा उठ्ने कि नउठ्ने ? सरकारले छानबिन आयोग गठन गर्ने रे तर यो गठन गरेर त्यसले काम गर्दैन । त्यसको विश्वसनीयता, नागरिकले विश्वास गरेको मान्छे छ, छैन त्यो पनि हेरौँ । सरकारी पदाधिकारी वृत्तिविकास खाएका मान्छे राखेर त्यसले केही गर्नसक्छ ? अर्को कुरा भएका कानुनहरू, आयकर ऐन, कम्पनी ऐन, दूरसञ्चार ऐनलाई अवमूल्यन गर्ने काम भएको छ । त्यो ऐनबाटै कार्यान्वयन हुनुपर्छ । आयोग गठन गर्ने भनेको आफ्नो पक्षमा ल्याउनको लागि हो । यहाँ त आवरण छ । यो एउटा चलखेलको माध्यम बनाएको भन्छु ।’

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहमा भ्रष्टाचार भइरहेका कारण संघीयतामाथि प्रश्न उठेको बताए । उनले मधेस र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नु आत्मघाती हुनसक्ने धारणा राखे । उनले एनसेलको पैसा नखाएकाहरू सत्तामा पुग्ने कोही पनि नभएका भन्दै एनसेल प्रकरणको सम्बन्धमा आफूहरूले आन्दोलन गर्ने बताए । 

उनले भने, ‘सिंहदरबारको भ्रष्टाचार पनि गाउँ गाउँ गयो । त्यस कारण संघीयतामाथि प्रश्न उठ्यो । जड भनेको चाहिँ के हो त भन्दा भ्रष्टाचार नै हो । कुशासन नै हो । मधेस र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नुभयो भने आत्मघाती हुनसक्छ । देशमा एनसेलको पैसा नखाएका, विचौलियाले नचलाएका जो सत्तामा आए पनि धेरै कम मान्छे मात्रै छौँ । हामी आन्दोलन गर्दै छौँ एनसेलको कुरा लिएर ।’

राजनीतिशास्त्रका प्राध्यापक तथा लेखक लोकराज बरालले देशमा गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मूल्यलाई भित्रैबाट आत्मसात् नगरिएको बताए । नेपालीहरू परिवर्तन गर्न माहिर भए पनि परिवर्तनलाई संस्थागत गर्ने आचरण र संस्कृति भने नभएको बताए ।  





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १९:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया