जलवायु अनुकूलनको प्रतिविद्धतालाई इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्छ : गुटेरस
फाइल तस्बिर

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ सकिन २ दिन मात्र बाँकी हुँदा सोमबार सम्मेलन स्थलमा पत्रकार सम्मेलन गर्दे उनले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताएका हुन् ।

सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताको विषयलाई ध्यान दिनुपर्ने बताए । उनले भने, ‘जलवायुको विज्ञानसँग सम्झौता नगरीकन, विकासोन्मुख र अल्पविकसित देशहरूको आवश्यकतासँग सम्झौता नगरीकन हामी सबैले काम गर्नुपर्ने आवश्यकता छ ।’

उनले प्रत्येक देशले एनडिसीमार्फत गरेको जलवायु अनुकूलनको प्रतिविद्धतालाई समय सीमा तोकी इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । उनले हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, जैविक ऊर्जाको प्रयोगलाई समय सीमा तोकी घटाउने र जलवायु न्यायलाई मध्यनजर गर्दै प्रत्येक देशले योजना बनाई काम गर्नुपर्ने कुरामा जोड दिए । ‘जैविक ऊर्जाको खपत हटाउने कार्यमा यो सम्मेलन सफल भएन भने के यसलाई हामी असफल भन्न मिल्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव गेटेरेसले जैविक ऊर्जा खपत एकै पटक हटाउन नसकिने टिप्पणी गरे ।

उनले भने, ‘एकै पटक सबैले बन्द गर्ने पनि होइन । यसलाई प्रत्येक देशले बिस्तारै कम गर्दै लैजाने भन्ने हो । सीमा तोकेर कम गर्दै लग्यो भने लक्ष्य हासिल हुन्छ । तर सबैले एकै पटक बन्द गर भन्ने होइन । जैविक ऊर्जाको खपत कम गर्नु भनेको रोजगारी वृद्धि गर्नु पनि हो । यो समय भनेको सम्झौता गर्ने समय हो । यहाँ हामीले सबै विषयमा विजयको अपेक्षा राख्नुहुँदैन ।’

उनले सम्मेलनमा जैविक ऊर्जाको खपत हटाउने सम्बन्धमा स्पष्ट दुई ध्रुवमा बाँडिएका मुलुकहरूलाई सामूहिक रूपमा आफ्नो प्रतिविद्धताप्रति इमानदार रही निर्णय गर्न सुझाव दिए । उनले ग्लोबल स्टक टेकको प्रमुख लक्ष्य नै वातावरणलाई प्रदूषित बनाउने सबै किसिमका जैविक ऊर्जाको प्रयोगलाई घटाउनु भए पनि एकै पटक नभई समय सीमा तोकेर हटाउनुपर्ने तर्क गरे ।  





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार १६:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया