काश्मिरको स्वायत्तता खारेज गर्ने निर्णय भारतको सर्वोच्च अदालतले कायमै राख्यो

भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह चलिरहेको मुस्लिम–बहुल काश्मिरको सीमित स्वायत्ततालाई खारेज गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको कदमलाई कायमै राख्दै एक वर्षभित्र त्यहाँ चुनाव गराउन आदेश दिएको छ । 

सर्वोच्च अदालतले उसको फैसलामा काश्मिरको सीमित स्वायत्तता खारेज गर्ने सन् २०१९ को घोषणा ‘एकीकरण प्रक्रियाको पराकाष्ठा थियो र यो शक्तिको वैध अभ्यास हो’ भनेको छ । उक्त कदमसँगै नयाँ दिल्लीबाट काश्मिरमा प्रत्यक्ष शासन लागू गरिएको थियो । भारतले उक्त क्षेत्रमा आफ्नो सशस्त्र सेनालाई विरोध प्रदर्शन नियन्त्रण गर्न मजबुत बनाएसँगै सामूहिक गिरफ्तारी, पूर्ण लकडाउन र सञ्चारमाथिको प्रतिबन्ध महिनौँसम्म चलेको थियो । 

काश्मिरमा प्रधानमन्त्री मोदीको कठोर नीति अत्यन्त विवादास्पद रहेको छ । तर, सम्पूर्ण भारतमा यसको व्यापकरूपमा खुसियाली मनाइएको छ र दशकौँदेखि हजारौँको ज्यान लिने विद्रोह केही हदसम्म शान्त भएको छ । 

भारत प्रशासित काश्मिर क्षेत्रको विशेष स्थितिलाई सुनिश्चित गर्ने संविधानको धारा ३७० हटाउँदा काश्मिरका भारत समर्थक राजनीतिक दलहरू, स्थानीय बार एसोसिएसन र व्यक्तिगत विपक्षीहरूले चुनौती दिएका थिए । यसको परिणाम सोमबारको फैसलामा भएको छ । 

अदालतले दिल्ली प्रशासित क्षेत्रका रूपमा जस्तै जम्मु–काश्मिरलाई राज्यको दर्जा दिन र ‘चाँडोभन्दा चाँडो’ कुनै पनि अन्य भारतीय राज्यबराबर ल्याउन माग गर्दै उसको स्वावत्तता हटाउने कदमलाई कायमै राखेको छ । अदालतले सन् २०२४ सेप्टेम्बर ३० सम्ममा काश्मीरमा चुनाव गराउन पनि आदेश दिएको छ । 

फैसला हुनुपूर्व नै सम्पूर्ण भारत प्रशासित काश्मिरमा सुरक्षा व्यवस्था बढाइएको थियो । अधिकारीहरूले कुनै पनि विरोध प्रदर्शनलाई असफल बनाउनका लागि श्रीनगरका मुख्य सहरमा सयौँ सैनिक, अर्धसैनिक र प्रहरीलाई तैनाथ राखेका थिए । 



भारतीय प्रधानमन्त्री मोदीले फैसलालाई ‘ऐतिहासिक’ भन्दै स्वागत गरेका छन् । हिन्दू राष्ट्रवादी नेता मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, ‘यो आशाको किरण, उज्ज्वल भविष्यको प्रतिज्ञा र एउटा बलियो, थप एकताबद्ध भारतको निर्माणमा हाम्रो सामूहिक संकल्पको एउटा प्रमाण हो ।’

संविधानको धारा ३७० हटाउने मोदीको भारतीय जनता पार्टी (भाजपा)को मञ्चको प्रारम्भदेखिकै मुद्दा हो र सर्वोच्च अदालतको फैसला आगामी वर्ष हुने निर्वाचनभन्दा अघि आएको छ । 



काश्मिरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले फैसलाको आलोचना गर्दै फैसला ‘जम्मु र काश्मिरका लागि मात्र नभई भारतको विचारका लागि पनि मृत्युदण्डको सजाय’ हो भने । मुफ्तीले काश्मिरमा भाजपासँगको गठबन्धनमा शासन गरेका छन् । तर, उनको पार्टी सर्वोच्च अदालतमा उक्त मामिलामा मुद्दा दायर गर्नेमध्येको एक थियो ।

  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार २३:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया