दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।
गत शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । तर, दुवै दिन ‘हेर्न नभ्याइने’ मा परेको उक्त रिटको पेसी आजलाई सरेको हो ।
सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको बताएका थिए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालको नामै लिएर चलखेल गरेको आरोप लगाएका थिए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले प्रमाण पेस गर्न सांसद सिंहलाई सार्वजनिकरूपमा चुनौती दिएको छ ।
एनसेल खरिद बिक्री युकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको सांसद सिंहले सार्वजनिक रुपमा बताएका छन् । एनसेलमा ठूलो चलखेल भएको उल्लेख गर्दै उनले आफूसँग त्यसको प्रमाण रहेको सामाजिक सञ्जालमार्फत दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।