पाकिस्तान : जुल्फिकर अली भुट्टोको मृत्युदण्डबारेको सुनुवाइ एक वर्षका लागि स्थगित

पाकिस्तानको सर्वोच्च अदालतले लामो समयदेखि चलिरहेको राष्ट्रपतिको सन्दर्भको सुनुवाइ मंगलबार ​स्थगित गरेको छ । राष्ट्रपतिको सन्दर्भले पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई सन् १९७९ मा दिइएको विवादास्पद मृत्युदण्डको सजायको पुनः अनुसन्धान गर्न माग गरेको छ ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाको नेतृत्वमा रहेको सर्वोच्च अदालतको नौ सदस्यीय इजलासले मुद्दाको सुनुावाइ गरिरहेको छ । इजलासमा अन्य न्यायाधीशमा सरदार तारिक मसुद, मन्सुर अली शाह, याह्या अफ्रिदी, अमिनुद दिन खान, जमाल खान मन्डोखाइल, मोहम्मद अली मजहर, सइद हसन अजहर रिजवी र मुसर्रत हिलाली छन् । 

यसअघि पूर्वप्रधानन्यायाधीश इफ्तिखार मुहम्मद चौधरीले राष्ट्रपतिको सन्दर्भमा पाँचवटा सुनुवाइ गरेका थिए । अन्तिम सुनुवाइ सन् २०१२ नोभेम्बर ११ मा भएको थियो । सन् २०११ अप्रिल २ मा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टीका संस्थापक जुल्फिकार भुट्टोको मामिला पुनः खोल्नका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । भुट्टोलाई सन् १९७९ अप्रिल ४ मा रावलपिन्डीमा फाँसी दिइएको थियो । 

एआरवाई न्युजका अनुसार सन् २०११ मा पूर्वराष्ट्रपति आसिफ अली जर्दारी पिपिपीका संस्थापक भुट्टोको मुद्दाको समीक्षाका लागि संविधानको धारा १८६ अन्तर्गत राष्ट्रपतिको सन्दर्भसहित सर्वोच्च अदालत पुगेका थिए । 

भुट्टोलाई पूर्वसैन्य शासक जनरल (सेवानिवृत्त) जियाउल हकको शासनकालमा मृत्युदण्ड दिइएको थियो । मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री भुट्टोमाथि उनका राजनीतिक प्रतिद्वन्द्वी नवाब मोहम्मद अहमद कसुरीको हत्या गरेको आरोप लगाउँदै मुद्दा चलाइएको थियो । विभिन्न सरकार प्रमुखहरूको माफीका लागि निवेदन र आग्रहका बाबजुद भुट्टोलाई फाँसी दिइएको थियो । 

उक्त मुद्दाको सुनुवाइ अब जनवरीको दोस्रो सातासम्मका लागि स्थगित गरिएको छ । यसैबीच सर्वोच्च अदालतले भुट्टोलाई दिइएको मृत्युदण्डमाथि पुनःविचार गर्ने राष्ट्रपतिको सन्दर्भको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएको छ । सर्वोच्च अदालतले आज जारी गरेको विज्ञप्तिअनुसार भुट्टोको मामिलाको सुनुवाइको सरकारी टेलिभिजन पिटिभीमा प्रत्यक्ष प्रसारण गरिनेछ । 



पिपिपीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले सन् १९७९ मा मृत्युदण्डको सजाय सुनाइए पनि जुल्फिकार अली भुट्टोको विरासत कायम रहेको भन्दै निवेदन पेस गरेका थिए । एआरवाई न्युजका अनुसार बिलावल भुट्टो जर्दारीले सर्वोच्च अदालतसमक्ष सुनुवाइको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिन आग्रह गरेका छन् । 

जुल्फिकर अली भुट्टोले सन् १९७१ देखि सन् १९७३ सम्म पाकिस्तानको चौथो राष्ट्रपति र सन् १९७३ देखि सन् १९७७ सम्म नवौँ प्रधानमन्त्रीका रूपमा सेवा गरेका थिए । उनले भारतका प्रधानमन्त्री इन्दिरा गान्धीसँग शिमला सम्झौतामा हस्ताक्षर गरेका थिए । 



  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार २३:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया