[अष्ट्रेलिया] दक्षिण एसियाली विद्यार्थी किन धेरै यौन शोषणमा पर्छन् ?

अष्ट्रेलिया– रिया सिंह (नाम परिवर्तन) सधैं जस्तै सिड्नी सेन्ट्रल स्टेशनबाट आफ्नो युनिभर्सिटी जाँदै थिइन् । उनी युनिभर्सिटीको बसमा चढिन्, एक पुरुष कर्मचारीले उनलाई धक्का दिए र सुम्सुम्याउन सुरु गरे । 

रिहा भन्छिन् ‘बीस मिनेटको यात्राका क्रममा यो सब भइरहेको थियो । मलाई निकै नराम्रो लाग्यो,  म डराएकी थिएँ । मलाई के गर्ने भन्ने थाहा थिएन्, म कोसँग जाउँ ? मेरा अभिभावकले यो कुरा थाहा पाउन सक्छन भनेर मैले यो बारेमा कसैसँग केही भनिन् ।’

२०१७ मा अष्ट्रेलियन युनिभर्सिटीमा हुने यौन शोषणबारे अष्ट्रेलियाली मानवअधिकार आयोगले एक राष्ट्रिय रिपोर्ट प्रकाशित गरेको थियो । यो रिपोर्टको नाम चेन्ज द कोर्स थियो । यो घटना उक्त रिपोर्ट आउनुभन्दा केही दिन अगाडिको मात्र थियो । 

सानैमा परिवारसँग अष्ट्रेलिया गएकी रिहा भन्छिन् ‘म चुपचाप रहे र मैले यस्तो व्यवहारप्रति कुनै प्रतिक्रिया नगरेकोमा आफैंप्रति रिस उठिरहेको थियो । दक्षिण एसियाका धेरै छात्राहरु यौन शोषणको विषयमा बोल्दा परिवारको सम्मानमा ठेस पुग्ने भएकाले मौन बस्छन् । रिपोर्ट प्रकाशित भएपछि यस्तो घटना रोक्न र यसबाट बच्नका लागि धेरै जागरुकता आएको छ र सजिलाे पनि भएकाे छ।’

एएचआरसीले आफ्नो रिपोर्टमा लेखेको थियो ‘२०१५ देखि २०१६ मा छात्राहरुमाथि सबैभन्दा धेरै याैन दुव्र्यवहार सार्वजनिक यातायातमा भएको छ । युनिभर्सिटीमा यौन शोषणको सामना गर्ने ५१ प्रतिशत छात्राले दुव्र्यवहार गर्ने व्यक्ति चिनजानकै भएको बताएका थिए ।’

मलेसियाबाट आएकी विद्यार्थी एमिली लि भन्छिन् ‘साथीको दबावमा मैले एकदिन आफ्नो साथीको घर जाने निमन्त्रणा स्वीकार गरे । हामीले केही मदिरा पनि लियौं, पछि उसले मसँग जबरजस्ती सम्बन्ध राख्ने प्रयास गर्यो । मैले केही सोच्नै सकिन् म यस्तो अवस्थाबाट कसरी छुटकारा पाउँ । मेरो लागि यो एउटा साँस्कृतिक झट्का थियो, हामीलाई पहिला यौन शिक्षा दिइएको थिएन र सामाजिक जीवनमा पनि मैले मदिरा सेवन गरेको थिइन् । म यो घटनालाई लिएर निकै लज्जित छु । धेरै लामो समय मैले यो विषयमा कसैलाई केही पनि बताइन्, किनकी सबैले मलाई नै यो घटनाको दाेषी ठहराउँछन् ।’ 



नयाँ संस्कृतिमा असहज 

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय छात्र परिषदकी राष्ट्रिय महिला अधिकारी बेले लिम भन्छिन् ‘यौनमा उदार अष्ट्रेलियाजस्तो देशमा आउने छात्रालाई सेक्स र सहमतिको बारेमा शिक्षित र सशक्त गराउनु हाम्रो जिम्मेवारी हो । एसियाली देशबाट आएका छात्रा याैन शिक्षामा सचेत नहुँदा पनि यौन दुव्र्यवहारका शिकार भएका हुन् । ’



अष्ट्रेलिया आउने कतिपय विद्यार्थी आफ्नो घरको सुरक्षित वातावरणबाट पहिलो पटक बाहिर आएका हुन्छन् । नयाँ संस्कृतिबाट अनभिज्ञ हुँदा पनि उनीहरु उच्च जाेखिममा पर्ने सम्भावना निकै छ । 

श्रीलंकाबाट आएकी एक पूर्व छात्रा देवाना सेनानायके आफ्नो अनुभव सुनाउँछिन् ‘म मेलबर्न युनिभर्सिटीमा भर्ना हुँदा १८ वर्षकी थिएँ । मैले मदिरा पिउने, ड्रग्स लिने र अनुमतिबिना छुने संस्कृति पहिलो पटक यहाँ देखेँ ।यस्तो देखेपछि निकै असहज महसुस गर्न थाले । एक अन्तर्राष्ट्रिय विद्यार्थी भएपछि नयाँ देशमा धेरै पटक एक्लै हुनुपर्दाे रहेछ र यस्ता असहज परिस्थितिको सामना गर्नुपर्छ ।’

३९ युनिभर्सिटीका ३० हजारभन्दा धेरै छात्राहरुमाथि गरिएको एक सर्वेक्षणअनुसार २०१५–२०१६ मा ५.१ प्रतिशत विदेशी छात्राहरुले यौन दुव्र्यवहार भएको बताएका थिए । जसमध्ये १.४ प्रतिशत छात्राले युनिभर्सिटीमा उनीहरु दुव्र्यवहारमा परेको बताएका थिए । 

एएचआरसीकी सेक्स डिसक्रिमिनेशन कमिश्नर केट जेनकिंन्स भन्छिन् ‘यौन दुव्र्यवहारमा विदेशी छात्राहरु धेरै परेको संकेत हामीलाई मिलेको छ । कार्यस्थलमा पनि यौन शोषणको अवस्था यस्तै रहेको मेरो ताजा अनुसन्धानले देखाउँछ । पीडितहरु सहायता नेटवर्कको पहुँचभन्दा टाढा छन् र उनीहरुलाई यस्तो अवस्थामा कसरी सहयोग लिने भन्ने थाहा छैन् ।’ 

छात्र संगठन, अधिकार समूह र यौन दुव्र्यवहारका पीडितहरु यस्तो केसमा युनिभर्सिटी जिम्मेवार रहेको बताउँछन् । विद्यार्थीहरुमाथि हुने यौन दुव्र्यवहारका श्रृंखलालाई कम गर्न युनिभर्सिटी सक्रिय हुनुपर्ने उनीहरुको तर्क छ । 

दक्षिण एसियाली समुदायमा यस्ता मुद्दामा धेरै कुरा पनि हुँदैन र व्यवस्था पनि त्यति सजिलो छैन् । सिड्नी युनिभर्सिटी पिजी रिप्रिसेन्टेटिभ एसोसिएशनका पूर्व सह–अध्यक्ष र पाकिस्तानबाट आएकी विद्यार्थी मरियम मोहम्मदलाई एक पीडितले बताएकी थिइन् ‘उनी जब काउन्सिलरसँग यौन दुव्र्यवहारको बारेमा कुरा गर्दा आफूलाई निकै असहज महसुस भएकाे थियाे ।’ 

रेप अन क्याम्पस अष्ट्रेलियामा २०१८ मा सयभन्दा बढी केस आएका थिए, जसमा पाँच प्रतिशत दक्षिण एसियाली छात्रा थिए । इआरओसीका संस्थापक निर्देशक शर्ना ब्रेमनर भन्छन् ‘यो ठूलो संख्या हो, दक्षिण एसियाका छात्राहरु घटनालाई लिएर कमै रिपोर्ट गर्छन् । उनीहरु साँस्कृतिक रुपले पनि अनुकुल छैनन् । कतिपय अवस्थामा कस्तो व्यवहारलाई रिपोर्ट गर्ने भनेर उनीहरुलाई जानकारी हुँदैन् । कतिपय छात्रा परिवारको दबावका कारण पनि यस्ता घटनाहरु लुकाएर राख्छन् । 

सर्वेबाट ८७ प्रतिशत छात्रामाथि यौन दुव्र्यवहार भएको र जसमध्ये ९४ प्रतिशतले यौन दुव्र्यवहारविरुद्ध उजुरी नगरेको र भिजामा समस्या आउन सक्ने आश‌ंका मुख्य कारण रहेकाे बताइएकाे छ ।  

कतिपय अवस्थामा युनिभर्सिटीले पनि पीडित विद्यार्थीहरुको समस्यालाई त्यति वास्ता नगर्दा पनि उनीहरु रिपोर्ट गर्न चाहँदैनन् र यसबाट छुटकारा पाउन एक्लै सामना गर्ने गर्छन् । 

युनिभर्सिटीका प्रोफेसरबाट दुव्र्यवहारमा परेका छात्रामा अन्डर ग्रेजुएटको तुलनामा पोस्ट ग्रेजुएट छात्राको संख्या दुई गुणा भएको सर्वेबाट पत्ता लागेको छ । 

काउन्सिल अफ अष्ट्रेलियन पोस्ट ग्रेजुएट एसोसिएसनले दुर्व्यवहारका घटना कम गर्न नीतिगत कदम उठाउने विषयमा सक्रिय रुपले काम गरिरहेको बताउँछ । 

मेलबर्न स्थित सेन्टर फर कल्चर, एथनिसिटी एन्ड हेल्थका सह–प्रबन्धक एलिसन कोअल्हो भन्छन् ‘क्याम्पसमा हुने यौन आक्रमण रोक्ने एक तरिका अनलाइन प्रशिक्षण पनि हुन सक्छ, यसबाट सेक्स स्वास्थ्य, स्वस्थ सम्बन्धका बारेमा जानकारी दिन सकिन्छ । विदेशी विद्यार्थीका लागि उनीहरुको देशको सांस्कृतिक चालचलनलाई पनि ध्यानमा राखेर शिक्षा दिनुपर्छ ।’ 

विपक्षी लेबर पार्टीका उपनेता तान्या प्लाईपबर्सेक भन्छन् ‘युनिभर्सिटीमा पढ्ने विदेशी तथा स्वदेशी सबै विद्यार्थीलाई सुरक्षित रहने अधिकार छ । यसकारण लेबर पार्टी सत्तामा आए स्वतन्त्र टास्कफोर्स स्थापित गर्नेछ, जुन युनिभर्सिटी र होस्टेलमा दुव्र्यवहार रोक्न बलियो संयन्त्र हुनेछ ।’

  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १४:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया