मिथिला चित्रकलामा प्रतीकहरूको प्रयोगले मिथिलाको सम्पूर्ण सांस्कृतिक जीवन परिलक्षित भएको पाइन्छ । मैथिलहरूले हजारौं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ । चित्रहरू तान्त्रिक प्रतीकहरूले परिपूर्ण रही जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् । कोहवर, अरिपन र पौराणिक कथामा आधारित दृश्य मिथिला चित्रकलामा जनप्रिय रहेका छन् ।
अरिपनको पदचिह्नले सूर्य, चन्द्र तथा पृथ्वीको आत्माको रुप पाइन्छ । सिन्दृरको रातो बिन्दृले प्रकृतिको शक्ति रुपलाई बोध गराउँछ । कोहवरमा वासनात्मक मुद्रा, अरिपनमा शास्त्रोक्त क्रिया पद्धति एवं घरेलु धार्मिक उत्सवहरूका लागि पवित्र ठाउँको प्रतिनिधित्व पनि गरिरहेको छ ।
चित्रहरू पुरातन शैलीको भए तापनि स्पष्टरूपले भाव र प्रतीकमा श्रेष्ठ छन् । चित्रमा मुख सधैँ पाश्र्व दृश्यमा हुन्छन् भने आँखा अगाडिबाट देखिने हुन्छन् । खुट्टाहरू तिर्यक, लामा चुच्चे नाक र ठूला आँखा भएका अनुहारले मङ्गोलियन प्रभाव निर्मित नदेखाई आर्य सन्ततिको बोध गराउनु यसको उत्कृष्टता मानिन्छ । आज–भोलि पनि मिथिलाका नारीहरू कुनै धार्मिक काम र उत्सवमा आफ्ना घर, भित्ता एवं आँगन चित्रहरू बनाउँछन्, बनाइएका चित्रहरू प्राचीन र मध्यकालीन चित्रहरूको जस्तै साधारण हुन्छन् तथा तत्कालीन समयको मिथिलाको पुरातन परम्परालाई जीवित रूपमा देखाउँछन् । मूल रूपमा यो कला नारी वर्गसँग सम्बद्ध छ । यो आश्चर्य तर सत्य हो कि पुरूष वर्गले अपवाद रूपमा नै कला साधनामा भाग लिएका छन् ।
मिथिलाको संस्कृति लोक वैदिक संस्कृति हो । यसको कला परम्परा लोक वैदिक संस्कृतिकै उपज हो, चित्रकला पुस्ताले अर्जित गरेको सम्पत्ति हो र युगानुरूप नयाँ आयाम थपिदै गएका छन् । विषय–वस्तु, रङ्गमा परिवर्तन आए पनि मौलिक संस्कार र प्रवृत्ति अझ पनि त्यसै रूपमा सुरक्षित छ । यस कलाको सांस्कृतिक महत्वसहितको इतिहास हर्षवद्र्धन (सन् ६०३–६४३ ) को समयमा रचित हर्षचरित र नैषद्ध चरित ग्रन्थहरुमा उल्लेखित ग्रहवर्मनको कोहवर भित्ति चित्रमा देवता र कामदेवको चित्र तथा अरिपनहरुको चर्चा पाइन्छ ।
कालिदासको महाकाव्य मेघदूतमा पनि काव्यका चरित्र नायक नवविवाहित यक्षको कोहवर घरको प्रवेश द्वारको भित्तिमा कमल शङ्खका चित्र बनाएको उल्लेख छ । त्यतिखेर विवाहका लागि वरवधुको वरण गरेअनुसार वरको अनुपस्थितिमा वरको प्रतीक फलक (काठ/हाती दाँत) बनाएर पडाउने वा मगाएर हेर्ने र यज्ञ वरको चित्र राखेर विवाह गर्ने प्रचलन रहेको पनि तत्कालीन साहित्यमा चर्चा भएको पाइन्छ । यस कलाको प्रशंसात्मक चर्चा चौधौँ शताब्दीका विद्वान त्योतिरीश्वरले पनि वर्ण रत्नाकर नामक पुस्तकमा गरेका छन् तर यसको परम्परालाई हेर्ने हो भने अझ प्राचीन कालको हिन्दू सभ्यता र संस्कृतिको स्वर्णिम युगको इतिहासका पानालाई पल्टाउनु पर्ला जस्तो लाग्छ ।
डा. उपेन्द्र ठाकुरको ‘हिस्ट्री अफ मिथिला’ पुस्तकमा भगवान रामचन्द्रको विवाहमा पनि राजा जनकको दरबारमा भित्तीचित्रहरु बनाइएको उल्लेख छ । मिथिला चित्रकलामा सेतो रङ्ग अर्बा चामलको पीठो, सिन्दूरी रङ्ग सिन्दूर र बाख्रीको दूधको मिश्रण, नीलो रङ्ग वनस्पति नील, रातो रङ्ग कुसुम फूल, पीत रङ्ग डोका, घोंघाबाट चूनामा वरगदको दूध मिश्रण, हरियो रङ्ग सिमी वा बेलको पात र कालो रङ्ग जौका खरानी र गाईको गोबर वा बेलको गुंदको मिश्रणको चलन रहेकोमा वर्तमानमा रासायनिक रङ्गले प्रश्रय पाएको छ ।
प्राकृतिक रङ्गहरुमा स्थायीत्व हुन्छ भने रसायनिक रङ्गमा स्थायीत्वको अभाव देखिएको छ । प्राकृतिक रङ्गहरु घरैमा बनाउने चलन थियो । यसका विषयवस्तुहरूमा मुख्यतयाः लौकिक, पारलौकिक र प्रतीकात्मक पक्षहरूलाई समेटिएको पाइन्छ । लौकिक विषयवस्तु अन्तर्गत धार्मिक, सांस्कृतिक र काल्पनिक विषयवस्तुमा प्राकृतिक दृश्यहरू नदी, पहाड, बगैंचा, लहरा, कदम, कटहर, चरा, माङ्गलिक वस्तुहरूको साथै सजावटका विभिन्न चित्रहरू र पारलौकिकमा देवीदेवताका सुन्दर चित्रहरू पर्दछन् । प्रस्तुत शिव, विष्णु, लक्ष्मी, सरस्वती, रामसीता, राधाकृष्णका चित्रमा मानवीय भाव, स्नेह एवं ममताको प्रतीकात्मक अभिव्यक्तिको बोध गराउँछ ।
त्यस्तै प्रतीकात्मक विषयअन्तर्गत विभिन्न वनस्पति, प्राणीलगायत चराचुरूङ्गीको बाहुल्यता पाइन्छ । धार्मिक अनुष्ठान र लोकाचारमा आधारित यो कला जीवनको अभिन्न अङ्ग हो । यस कलामा समान्यतः सात किसिमको रङ्गको प्रयोग देखिन्छ । प्राकृतिक र घरेलु उपकरणबाट तयार गरिएको रङ्गले भिन्दा भिन्दै वस्तुहरूको भावलाई उजिल्याउने गरेको छ जो पुस्तौं पुस्तादेखि आमसमुदायमा स्थापित हुँदै आएको छ । पूजाआजा, चाडपर्व अन्य संस्कारहरू उपनयन, विवाह जस्ता अवसरमा कुन–कुन प्रतीकको प्रयोग गर्नेबारे एउटा परम्परा नै बसेको पाइन्छ । मिथिला चित्रकलामा लौकिक अन्तर्गत जीवन र प्रकृतिलाई आधार बनाई वस्तुसत्तात्मक र धारणात्मक प्रतीक परिलक्षित हुने गरेको छ ।
मिथिला चित्रकलामा प्रतीक संयोजन अत्यन्त कलात्मक रूपमा गरिएको पाइन्छ । कलामा संयोजन गरिएका हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीकका रूपमा मानिएको छ भने घोडालाई सूर्य, बल र पुरूष जाति, गाईलाई पवित्रता र मातृत्वका प्रतीक मानिएको छ । त्यस्तै सुगालाई गुरू र मित्रता, माछालाई उत्पादनशक्ति र नारी जातिको प्रतीक मानिएको पाइन्छ । अन्य जीवजन्तुमा कछुवालाई विष्णु, पुरुष वर्ग र दीर्घायु, हाँसलाई सौन्दर्य तथा संसारका कठिनाई पार गर्दै जाने र ज्ञानका प्रतीक मानिएको छ भने युगल जोडी हाँसलाई प्रणय र सुखद् दाम्पत्य जीवनको सङ्केतका रूपमा लिइएको छ ।
कला मानव संस्कृतिको उपज भएकाले कला र संस्कृतिमा लोककलाको अनौठौ संयाजन पाइन्छ । मिथिला चित्रकलामा मयुरलाई नृत्य, सौन्दर्य एवं प्रेमको निवेदक र अनारलाई सौन्दर्यको प्रतीक मानिन्छ । त्यस्तै कदमको फूललाई प्रेमको र कमल फूललाई कोमलता, अनुराग, सौन्दर्य, नारीको शरीरका साथै लक्ष्मीको सङ्केत प्रदान गरी वैभवलाई औंल्याएको हुन्छ । त्यस्तै बाँसलाई वंश वृद्धि र पुरूष जातिको प्रतीकका रूपमा मानी चित्रहरूमा अङ्कित गरिएको पाइन्छ ।
सरसता, समरसता एवं संवेदनशीलतासहितको यो प्रतीकात्मक परम्परा मैथिल संस्कृतिको एउटा यस्तो शिल्प हो जो मैथिलहरूको जीवनशैलीमा यसको दखल नङ–मासुजस्तो देखिन्छ । चित्र तथा मूर्ति बनाइएको घर शून्य हुँदैन भन्ने प्रचीन मान्यताका आधारमा चित्रका अलङ्कारिक अंशका गुणग्राहक तत्वलाई महत्व दिएर त्यसलाई आफ्नो संस्कृतिको आत्माका रूपमा चिरस्थायी बनाएको पाइन्छ । मैथिल संस्कृतिमा विवाहको चतुर्थीको विधि नहुन्जेलसम्मको भित्ते चित्र पनि रङ्गाउने गरिन्छ । यसमा केटाकेटी र घोडाको चित्रद्वारा प्रतीकात्मक रूपमा यौन शिक्षा प्रदान गर्ने जमर्को गरिएको हुन्छ । कोहबर घरका चित्रहरु प्रतीकात्मक अर्थमा सम्पूर्ण जविनचक्रको कथा नै हो ।
मिथिला लोक चित्रकलाले वंशगत शिल्पगत तथ्यअन्तर्गत संसार स्वर्गीय र मानवीय कुराको गठबन्धन जस्तो हो भन्ने भावभूमिमा प्रतीकात्मतालाई आत्मसात गर्दै समाजलाई एक सूत्रमा आबद्ध गर्ने द्योतकसमेत मानिएको छ । मैथिल महिला जुन हातले चित्र बनाउँछन् तिनीहरू तिनै हातले भित्तामा उस्तै कलाकृतिको पनि सिर्जना गर्दछन् । तिनै हातले सिकी, मोथी, मुञ्ज आदिका अनेक शिल्पी सामग्री पनि रङ्गीन चित्रावली समान रचना गर्दछन् । ती कलाहरूमा जीवन, प्रकृति र कल्पनालाई विषय वस्तुगत रूपमा संयोजित गर्दा कसैकसैले प्रकृतिको निरीक्षण गर्ने चेष्टा गरेका हुन्छन् भने कसैले जीवनको गतिशीलता र कसैले काल्पनिक भावनालाई गीतात्मक रूपमा संप्रेषण गर्न खोजेको पाइन्छ ।
मिथिला चित्रकलामा जानेर–नजानेर धार्मिक आस्थाका आधारमा वैज्ञानिक तथ्य पनि पर्याप्त छन् । देवीदेवता, सूर्य, चन्द्र, तारा, नवग्रह, पृथ्वी, सर्प, जलाशय, माछा, विच्छी आदिको धार्मिक महत्वसँगै वातावरणसँगसमेत सम्बन्धित छ । तिनीहरूको चित्र बनाएर पूजा गर्नु धार्मिक मान्यताअनुसार डरबाट मुक्ति र सुरक्षित रहनु पनि मानिन्छ । भित्ती र भूमिबाट कागत र कपडामा नियमित प्रयोजनमा सीमित मिथिला चित्रकला विश्वका सामुन्ने कला पारखी र प्रेमीलाई आनन्द दिन पनि सफल तथा लोकप्रिय भएको छ । मिथिला चित्रकलाले विदेशी कलाप्रेमीका पर्व र समारोहमा शुभकामना आदान प्रदान गरी जित्न सफल भएको पनि देखिन्छ । यसरी हजारौं वर्षदेखि मैथिल जनजीवनमा प्रतीक विधानद्वारा छाप छोड्दै आइरहेको मिथिला चित्रकलाका यी विशिष्ट चित्र शैलीहरु पनि आफ्नो रहस्यमयता र तान्त्रिक अर्थबोधको लागि निरन्तर अध्ययन शोधको विषयका रुपमा स्थापित भइसकेकाले यसलाई पाठ्यक्रममा राखी जीवन्त राख्नु पर्दछ ।
(लेखक चौधरी पत्रकार तथा मैथिली साहित्यका जानकार हुन् )
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।