इजराइली आक्रमणपछि गाजाका सबै अस्पताल बन्द

गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजराइली सेनाको आक्रमणपछि मंगलबार काम गर्न बन्द गरेको सो अस्पतालका निर्देशकले बताएका छन् । निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेका थिए । आक्रमणमा भवनका केही भागलाई नष्ट पार्दै सैनिकहरूले चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई गिरफ्तार गरेको उनले बताए । 

‘इजराइली आक्रमणबाट अस्पताललाई कामविहीन बनाएको छ, हामी कुनै पनि बिरामी वा घाइतेलाई लिन सक्तैनौँ,’ उनले भने । उनका अनुसार सोमबार इजराइली आक्रमणमा घाइते भएका कम्तीमा चारजनाको अल–अहली अस्पतालमा भएको हमलामा मंगलबार मृत्यु भएको छ । ‘हाम्रो जानकारी अनुसार वरपरका सडकहरूमा दर्जनौँ घाइते छन्,’ उनले भने । 

ब्याप्टिस्ट वा अहली अरब अस्पतालको नामले चिनिने अल–अहलीको कार पार्कमा अक्टोबर १७ मा विस्फोट हुनुभन्दा अघि नै व्यापक क्षति भएको थियो । उक्त विस्फोटमा दर्जनौँको ज्यान गएको थियो । लडाकू समूह हमास र इस्लामिक जिहादले उक्त विस्फोटका लागि इजराइलमाथि आरोप लगाएका छन् । तर, इजराइलले उक्त आरोपको खण्डन गर्दै इस्लामिक जिहादले एउटा असफल रकेट आक्रमण गर्दा विस्फोट भएको बताएको छ । 

अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि गाजापट्टीमा इजराइली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत संरक्षित अस्पतालहरू बारम्बार प्रभावित भएका छन् । इजराइली सैनिकहरूले यसअघि गाजामा अन्य चिकित्सा सुविधाहरूमा छापा मारेका थिए । यसमा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा पनि रहेको छ । अहिले उक्त अस्पतालले अत्यन्त सानो टिमका साथ न्यूनतम क्षमतामा काम गरिरहेको छ । 

आइतबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अल–अहली अस्पताललाई शल्यक्रियाका लागि अल–शिफा अस्पतालबाट ‘गम्भीर बिरामीहरू’ प्राप्त भइरहेको बताएको थियो । डब्लुएचओले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ । 

गाजामा नागरिकको बढ्दो मृत्यु र अस्पतालहरूको विनाशलाई लिएर इजराइलले व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । पछिल्लो आधिकारिक इजराइली तथ्यांकमा आधारित एएफपीको तथ्यांकअनुसार साँघुरो क्षेत्रमा हमास लडाकूहरूले सीमा पार गरी भयानक आक्रमण गर्दा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ३९ जनाको मृत्यु भएको थियो । हमलाका क्रममा हमासका लडाकूहरूले करिब दुई सय ५० मानिसलाई अपहरण गरी गाजापट्टी लगेका थिए । 



हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा १९ हजार छ सय ६७ जनाको ज्यान गएको छ । 



  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार २३:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया