गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएका छन् । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो ।
संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।
गाजापट्टीमा इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ । कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।
इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका १२९ जना बन्धकहरूको रिहाइका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मङ्गलबार उनले हमाससँग वार्ताको टेबुलमा फर्कने सङ्केत दिएका छन् ।
इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाइका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई ‘हाम्रा बन्धकहरूलाई मुक्त गर्न’ दुईपटक युरोप भ्रमणमा पठाएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।