एनसेल सेयर बिक्रीविरुद्ध मानवअधिकारवादीको विरोध, १७ जना पक्राउ

दूरसञ्चार कम्पनी एनसेलको सेयर बिक्रीमा राज्यविरुद्धको अपराध भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा सहभागी १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बलबहादुर गाहामगर, भगवान पुडासैनी, विकास थापा, सानु लामा, रोज विष्ट, बुद्ध रिसाललगायत छन् । 

उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेर साँझ छाडेको छ ।

समाजले धरपकडको विरोध गरेको छ । विज्ञप्ति जारी गर्दै प्रचलित कानुनअनुसार नेपाल सरकारको स्वामित्वमा आउने सम्पत्ति केही व्यक्ति र गिरोहको कब्जामा पार्न चलखेल भइरहेको आरोप लगाएको छ । 

एनसेलको सेयर बिक्री प्रकरणमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुसहित राजनीतिज्ञको संलग्नता रहेको दाबी समाजको छ । 

राज्यका विभिन्न निकायका पदाधिकारीसमेत सन्देहको घेरामा रहेको हुँदा विश्वसनीय न्यायिक छानबिन आयोग गठन, राज्यलाई नोक्सानीबाट जोगाउन र सेयर बिक्री प्रकरणमा संलग्नलाई दण्डित गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार २१:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया