logo-img

आफैँलाई चिनौँ : सुख र दुःख आफ्नै हातमा छ

हामी प्रत्येक क्षण राम्रो या नराम्रो अनुभव गरिरहेका हुन्छौँ । पलपल भोगिरहेका छौँ । या त यो क्षणमा दुःखको अनुभव गरेका हुन्छौँ या त यो क्षणमा सुखको अनुभव गरेका हुन्छौँ । र, दुइटै अनुभव गर्ने छुट हामीलाई छ । जे अनुभव गरे पनि हुन्छ । कसैले जबरजस्ती गरेकै छैन । न त कसैले सुख भोग भनेको छ न त कसैले दुःख भोग भनेको छ । सुख–दुःख हाम्रो मनको सिर्जना हो । सुख पनि हाम्रो मनले सिर्जना गर्छ, दुःख पनि हाम्रो मनले सिर्जना गर्छ । अहिलेको जस्तो परिस्थिति पहिले पनि आएको थियो, पहिले पनि यस्तै–यस्तै घटनाहरू घटेका थिए, तर त्यति दुःखको अनुभव गरेको थिएन । अहिले गर्‍यौँ ।

उस्तै प्रकृतिको घटना घट्दा कहिले धेरै दुःखको अनुभव गर्छौँ, कहिले कम दुःखको अनुभव गर्छौँ । यसको अर्थ हो– हाम्रो मन कस्तो छ, त्यस्तै स्थिति बन्छ । यतिखेर मनले के लिएर आइरहेको छ, मनमा कस्तो सोच छ, बिचार छ, यदि दुःख ल्याउने प्रकारको विचार छ, मनमा दुःखका भावहरू आएका छन् भने सजग हुन जरुरी छ । जुन भावले दुःख ल्याउँछ, त्यो भाव किन मनमा बस्न दिने ? महसुस गर्ने हो सुखकै महसुस गरौँला, दुःखको किन गर्ने ?



बोल्नलाई हो शब्द, उच्चारण गर्ने हो, राम्रो शब्द उच्चारण गरौँ न । नराम्रो किन गर्नुपर्‍यो र ? नराम्रा शब्दहरू उच्चारण गरेर, असभ्य शब्दहरू प्रयोग गरेर, कसैलाई चित्त दुख्ने शब्दहरू प्रयोग गरेर हाम्रो मन शान्त हुन्छ र ? हाम्रो मन शीतल हुन्छ र ? हुँदैन भने किन नराम्रो शब्द प्रयोग गर्नु ? हाम्रै हातमा छ नि । कसैले नराम्रो शब्द प्रयोग गर् भनेर हामीलाई जबरजस्ती गरेको त छैन । हाम्रो आफ्नो मुख हो, हाम्रो आफ्नो शब्द हो । जस्तो उच्चारण गरे पनि पाइन्छ । प्रकृतिले हामीलाई पूरा छुट दिएको छ । मीठो बोली बोले पनि हुन्छ, अरूको हृदयलाई शीतल बनाउने र आफ्नो हृदयलाई पनि शीतल पार्ने शब्द बोल्दा पनि हुन्छ । र अरूलाई पनि चोट हुने र आफूलाई पनि कष्ट हुने शब्द बोल्दा पनि हुन्छ, हाम्रो खुसी । सुख–दुःख हाम्रो आफ्नो उपज हो । हामीले बनाउने हो । कसैलाई अपमान गर्न पनि सक्छौँ, कसैलाई सम्मान गर्न पनि सक्छौँ । हाम्रो हातमा छ । जे गरे पनि हुन्छ । कसैले अपमान गर है भनेर जबरजस्ती गरेको छैन ।

अरूलाई अपमान गरेर आफू पनि दुःखी र अरूलाई पनि दुःखी बनाउन सकिन्छ । कुनै पनि मानिसलाई अपमान गरेर, कुनै पनि वस्तुलाई अपमान गरेर कोही सुखी हुन्छ र ? सुखको अनुभव हुन्छ भने अपमान गर्दा ठीक छ । हुँदैन भने किन गर्नु ? आफ्नै हातबाट हो, जे गरे पनि पाइहालिन्छ क्यारे । अरूलाई सम्मान गर्न पनि छुट छ, अपमान गर्न पनि छुट छ । जस्तो गरे पनि हुन्छ । अरूलाई सहयोग गरे पनि हुन्छ, असहयोग गरे पनि हुन्छ । हाम्रो हातमा छ । कसैलाई असहयोग गर्दाखेरि, कसैको दुःखमा साथ नदिँदाखेरि आनन्द आउँछ र ? आउँछ भने त्यही गरे हुन्छ । हैन अरूको मद्दत गर्दाखेरि, अरूलाई सहयोग गर्दा, अरूलाई खुसी बनाउँदा आनन्द आउँछ भने त्यही गरे भइहाल्यो नि । हाम्रो हातमा छ । जे गर्दा पनि छुट त हामीलाई ईश्वरले दिएकै छ ।
यी सद्गुणहरूलाई प्रयोग गर्ने अवसर पनि हामीलाई छ । आफूभित्र रहेका दुर्गुणहरूलाई प्रयोग गर्ने अवसर पनि हामीलाई छ । के प्रयोग गर्ने भन्ने हाम्रो हातमा छ । सद्गुणलाई प्रयोग गरेर मानिस देवता बनेको छ । दुर्गुणलाई प्रयोग गरेर दानव बनेको छ । अवगुणलाई प्रयोग गर्ने या सद्गुणलाई प्रयोग गर्ने भन्ने हाम्रो हातमा छ । हामीलाई कसैले अवगुण प्रयोग गर भनेर जबरजस्ती गर्दैन ।

त्यसैले सुख–दुःख हाम्रो हातमा छ । अरूले दुःख दियो भनेर भन्नु अर्थहीन हुन्छ । कसैले कसैलाई दुःख दिँदैन । सद्गुणहरूलाई प्रयोग गर्‍यौँ भने सुखै–सुख हुन्छ र अवगुणहरूलाई प्रयोग गर्‍यौँ भने दुःखै–दुःख हुन्छ । कति प्यारो व्यवस्था छ । हामीलाई ईश्वरको कति ठूलो कृपा छ । सुख पाउनुपर्छ बाबु सुख पाऊ, पूरा पूरा व्यवस्था गरिदिएको छ । तिमीलाई कसैले दुःख दिँदैन, सुख तिम्रो हातमा छ । आखिर दुःख पनि तिम्रै हातमा   छ । आफूखुसी– कति छुट दिएको होला । कस्तो स्वतन्त्रता दिएको होला ? मानिस पूर्ण स्वतन्त्र छ । मानिस कसैको अधीनमा छँदै छैन । हामीले कस्ता गुण प्रयोग गर्‍यौँ, त्यसमा निर्भर गर्छ ।

कुनै मानिसले कसैलाई दुःख दिनै सक्दैन । कसैले कसैलाई दुःख दिँदैन । हामीले दुःख दिने वातावरण बनाइदियौँ भनेचाहिँ दुःख दिन्छ । हामीले हाम्रा अवगुणहरूलाई प्रयोग गर्‍यौँ भने अरूले दुःख दिने वातावरण बन्छ । अनि अरूले दुःख दिन्छन् । हाम्रा सद्गुणहरूलाई प्रयोग गरेका छौँ भने अरू कसैले दुःख दिनै सक्दैन । मैले चाहिँ उसको सहयोग गर्ने, उसलाई सद्भाव व्यक्त गर्ने, उसले मलाई सताओस्, दुःख देओस्, त्यस्तो हुँदैन । मैले माया गरेपछि त फिर्ता माया नै आउँछ । मैले जस्तो व्यवहार गर्छु, फिर्ता त्यस्तै आउँछ । आफ्नो  मनमा कपट छ, आफ्नो मनभित्र द्वेष छ भने उताबाट पनि त्यस्तै आउँछ । आफूले अन्तःस्करणबाटै सद्भाव व्यक्त गरेको छ, सहयोग गरेको छ, प्रेम व्यक्त गरेको छ भने उताबाट नराम्रो फिर्ता आउँदै आउँदैन । यो प्रकृतिको नियम हो । जुन बिरुवा रोप्छौँ, त्यही बिरुवा हुर्किन्छ, त्यसैले फल दिन्छ । एउटा बिरुवा रोपेर अर्को फल आउँदैन । हामीलाई पूरा स्वतन्त्रता छ । जे भोगे पनि हुन्छ, सुख भोगौँ, दुःख भोगौँ, राम्रो भोगौँ, नराम्रो भोगौँ– सबै हाम्रो खुसी । आफ्ना सद्गुणहरूलाई प्रयोग गरौँ । 



हामीसँग प्रचुर मात्रामा गुणहरू छन् । यसको कमी छैन । हाम्रो अन्तःस्करण सद्गुणले भरिभराउ छ । प्रकट गरौँ र यसलाई प्रयोग गरौँ । सुन्दर हुन्छ दुनियाँ, सुन्दर हुन्छ संसार । सद्गुणलाई प्रयोग गर्‍यौँ भने सर्वत्र सौन्दर्य, अवगुणलाई प्रयोग गर्‍यौँ भने सर्वत्र कुरूपता हुन्छ । हामीलाई हामीभित्रको सद्गुणलाई प्रयोग गर्न कसैले रोकेको चाहिँ छ । नत्र भने हामी लड्थ्यौँ होला । जुन–जुन विषयले आफूलाई सुख दिन्छ, त्यो विषय त जसले नि पूरा गरिहाल्छ नि । सुख दिन्छ भन्ने जानिजानीकन कसैले दुःख दिने काम गर्छ र ? आगोमा हात हालेपछि पोल्छ भन्ने थाहा पाई पाई कसले हात   हाल्छ र ? हामी पनि हाल्दैनौँ । हाम्रा अवगुणहरूलाई प्रयोग गर्दा हामीलाई दुःख आउँछ भन्ने हामीलाई थाहा छ र पनि अवगुण प्रयोग गर्न बाध्य छौँ ।   यहाँ हाम्रो खुसी चल्दैन । अरू कसैले अवगुण प्रयोग गर्न हामीलाई प्रेरित गर्छ र दुःखी बनाउँछ । 

कसले प्रेरित गर्छ होला । हाम्रो सद्गुणलाई प्रयोग गर्न नदिने र अवगुणलाई मात्र प्रयोग गराउने को हो ? कसले यो गलत काम गर्न सिकाउँछ । नराम्रो दिशातिर, दुःख पाउने दिशातिर कसले डोर्‍याउँछ । एउटै मात्रै शक्ति छ जसले हामीलाई दुःख दिन्छ । त्यो शक्ति हामीभित्रै छ । त्यो शक्ति हाम्रो अहम् हो । हाम्रो अहम्कारले सद्गुणलाई प्रयोग गर्न दिँदैन । हाम्रो अहम्कारले हाम्रा अवगुणहरूलाई साथमा लिएर हिँडेको हुन्छ । जहाँ अहङ्कार, उहीँ अवगुणहरू  जहाँ प्रेम उहीँ सद्गुणहरू ।



प्रेम र अहङ्कारको मेल हुँदैन । अहङ्कार र प्रेम रात र दिन जस्तै हो । आफ्नो  अहङ्कारप्रति सजग होऔँ । प्रत्येक कर्म गर्दाखेरि, प्रत्येक घटना घट्दाखेरि आफूभित्र अहङ्कार त उठेको छैन ? यतापट्टि सजग बनौँ । यो सजगता नै अहङ्कार घटाउने कारक हो । कुनै पनि कुरा बोल्दाखेरि, अरूसँग आफूलाई व्यक्त गर्दाखेरि, आफ्ना भनाइहरू राख्दाखेरि, कुनै कार्य गर्दाखेरि आफूभित्र अहङ्कार त उठेन ? म केबाट निर्देशित भएर कर्म गरिरहेको छु ? मैले जे काम गर्दै छु, बोल्दै छु, यो बोल्नुको पछाडि कर्म गर्नुको पछाडि मेरो अहम्कारले प्रेरणा दिएको छ या प्रेमले प्रेरणा दिएको छ । यतापट्टि दृष्टि लगाउन जरुरी छ । किनभने हाम्रा कर्महरू या त प्रेमबाट निर्देशित हुन्छन्, या त अहङ्कारबाट निर्देशित हुन्छन् । केबाट मेरा कर्महरू निर्देशित छन्, मेरा भावहरू मेरा बिचारहरू, यतापट्टि दृष्टि दिनु जरुरी छ । थोरै पनि आफ्नो अहंप्रति सजग हुन सक्यौँ भने हामीभित्रका सद्गुणहरू बाहिर प्रकट हुन थाल्छन् र हामीलाई सुख मात्रै दिन्छन् ।

आफ्ना सद्गुण प्रयोग गरेर यो ब्रह्माण्डमा कोही दुःखी हुँदै हुँदैन । आफ्ना अवगुणलाई प्रयोग गरेर यो संसारमा कोही सुखी पनि हुँदैन । त्यसैले अहङ्कारप्रति सजगता, सुख–दुःखको आधार यही अहङ्कार हो । यसप्रति सजग बनौँ र ध्यानले यही सिकाउँछ । ध्यानले आफूमा हेर्न सिकाउँछ । आफ्ना गुण अवगुणहरूलाई केलाउन सिकाउँछ । आफूमा आउने भावहरू कसबाट निर्देशित छन्, यता हेर्न सिकाउँछ । प्रेमबाट निर्देशित कर्म हो या अहङ्कारबाट निर्देशित कर्म हो, आफ्नो प्रत्येक कर्मलाई छुट्याउन ध्यानले सिकाउँछ । ध्यान भनेको सजगता हो । आफ्ना भाव, आफ्ना बिचार, आफ्ना प्रत्येक कृत्यहरुप्रति सजग रहनु ध्यान हो र ध्यानका अभ्यासीहरु सद्गुणी हुन्छन् ।

मन शान्त र स्थिर हुन्छ । उत्तेजनामा अहङ्कार बढ्छ । शान्तिमा प्रेम बढ्छ । जहाँ शान्ति उहीँ प्रेम हुन्छ । जहाँ उत्तेजना, उहीँ अहङ्कार हुन्छ र ध्यानले शान्तितिरको यात्रा गराउँछ । उत्तेजनालाई घटाइदिन्छ । त्यसैले ध्यान सर्वोपरि छ । विना ध्यान कोही सुखी हुनै सक्दैन किनभने विना ध्यान अहङ्कार कम हुँदै हुँदैन । अरू सबै विषयहरूले अहङ्कार बढाउँछन् । ध्यानले मात्रै अहङ्कार घटाउँछ । किन घटाउँछ भने ध्यानबाट प्रेम उत्पन्न हुन्छ, शान्ति उत्पन्न हुन्छ । शान्ति, स्थिरता र प्रेममा अहङ्कारको कामै छैन । हामी सबैलाई पनि आफ्ना अहङ्कारप्रति सजग हुने अवसर प्राप्त होस् । हामी सबैलाई पनि ध्यानस्थ हुने अवसर प्राप्त होस् ।

(यो आध्यात्मिक विश्लेषण जीवन विज्ञान प्रतिष्ठानका संस्थापक नेपालको हो उनी जीवन विकास विशेषज्ञ हुन्)

  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार ९:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया