हमासले इजरायलसँग युद्धबिराम गर्याे

गाजा सिटी – इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै सुन्नी इस्लामिक चरमपन्थी संगठन हमासले इजरायलसमक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन । 

युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप गाजामा हवाई आक्रमण गरेको थियो । 

गाजा क्षेत्रको प्रशासन सम्हालीरहेको इस्लामिक क्रान्तिकारी संगठन हमासले इजिप्टको मध्यस्थतामा युद्धबिराम भएको दाबी गरेको छ । इजरायलमा आगामी दुई सातापछि अर्थात अप्रिल ९ तारिखमा संसदको निर्वाचन हुँदै छ । 

इजरायली हवाई आक्रमण भएकै समयमा इजयरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टनमा भेट गरेका थिए ।प्रधानमन्त्री नेतान्याहूले समेत युद्धबिरामका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

हमासका प्रवक्ता फउजी बरहुमले इजरायलसँग युद्धबिराम गर्न इजिप्टको प्रयत्न सफल भएको बताए । तर यो सम्झौता पछि पनि दुबै पक्षबाट गोलाबारी भएका थिए । मध्यरातबाट भने दुबै पक्षबाट गोलाबारी रोकिएका थिए । 

सोमबार राति गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरिएका थिए । यो आक्रमणबाट तेल अभिभमा सात जना घाइते भएका थिए । 

इजरायली सेनाले रकेट आक्रमणको प्रतिक्रिया स्वरुप हवाई हमला गरेको थियो । उक्त आक्रमणबाट हमासका एक नेताको कार्यालय सहित अन्य भवनहरुमा क्षति पुगेको थियो । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १४:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया