एनसेलको सेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताइन् । उनले एनसेलको सेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै  दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिइन् । 
        
‘अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ’, उनले भनिन्, ‘प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।’ 
    
गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको सेयर खरिद बिक्रीका विषयमा अध्ययनका लागि पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले एनसेलको हालै भएको भनिएको सेयर खरिद बिक्री र हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारबाहीको विस्तृत अध्ययन गरी त्यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्चार नियमन र सञ्चालन सम्बन्धमा सुझावसहितको अध्ययन प्रतिवेदन बुझाउने छ । समितिले तत्काल चाल्नुपर्ने कदम तथा दूरसञ्चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका लागि पनि राय सुझावसहित ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले निर्देशन दिएको थियो ।  

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐन, २०५३ र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बीच  एकरुपता नहुँदा अस्पष्टता देखिएको बताए । उनले एनसेलले सेयर खरिद बिक्रीका लागि प्राधिकरणसँग स्वीकृति नलिएको बताए । 
    
उनले भनिन्, ‘नेपाल बाहिर नै कारोबार भए पनि प्राधिकरणसँग स्वीकृति लिनुपर्छ । प्राधिकरणको विनियमावली, २०७६ को व्यवस्थाबमोजिम सेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिइ प्राधिकरणको स्वीकृतिपश्चात् मात्र कारोबार गर्नुपर्ने देखिन्छ, जुन ऐनसेलको हकमा भएको देखिँदैन ।’ 

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार टोकबहादुर विष्टले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो । समितिको बैठकमा समिति सदस्य सुमना श्रेष्ठ, छविलाल विश्वकर्मा, दीपा शर्मा, तोसिमा कार्की र बद्री पाण्डेलगायतले अन्तरसमिति समन्वय विना एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छुट्टाछुट्टै बैठक एवं निर्देशन जारी गरेकोप्रति असहमति जनाए । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १५:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया