logo-img

राष्ट्रिय मेलमिलाप दिवस : बिपीको मेलमिलापको कसीमा वर्तमान

नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला ८ वर्षको भारत निर्वासनपछि स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । त्यसो त कांग्रेसभित्रैका केही नेताको बुझाइमा भारत गमन बिपीको आत्मनिर्वासनको निर्णय थियो । बिपी त्यसबेला भारत जानुपर्ने कुनै खास आन्तरिक कारण नरहेको यो तप्काको बुझाइ छ । तर यो एक विचार मात्र हो । यसको पक्षमा सम्पूर्ण समर्थन जनाउन सकिने अवस्था छैन । यस धारणाको विपक्षमा अर्कोथरि धारणा पनि छ– शायद बिपी त्यसबेला भारत नगएका भए नेपालको राजनीतिले फरक धार समाउने थियो होला । 

यस्तै, भारतबाट नेपाल फर्कनु पनि बिपीको रणनीतिगत योजना थियो र त्यो अपरिहार्य थियो भन्नेहरूको मत पनि बलियो छ । त्यतिबेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर बिपीबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस्, यो बहसको फरक विषय हो । इतिहाससँग जोडिएको यस विषयका सम्बन्धमा भविष्यले अनेकथरि धारणा तय गर्ने सम्भावनाहरू जीवित नै रहन्छन् । तर, मेलमिलापको औचित्य स्वीकार गर्दै बिपी नेपाल फर्किएपछि नेपालको आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो । यसमा दुई मत हुन सक्दैन ।  

सन् १९६८ मा भारत गएका बिपी ३० डिसेम्बर १९७६ का दिन स्वदेश फर्केका थिए । बिपी नेपाल फर्किएको कुराको त्यसबेला कांग्रेसलगायत प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए । तर, उनको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको वामपन्थले भने बिपीको स्वदेश आगमनलाई खासै रुचाएको थिएन भनेर टिप्पणी गर्ने गरिन्छ । यसमा कति सत्यता छ, त्यो अनुसन्धानको फरक विषय हो । बिपी नेपालबाट जाँदा र फर्कँदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरकपन आइसकेको थियो । 

राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो । राजाका रूपमा बेलायतमा उच्च अध्ययन गरेका वीरेन्द्र अवतरित भएका थिए । चीनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । बङ्गलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन । यसै विषयलाई लिएर नेपालमा विद्यार्थी आन्दोलन पनि चर्केको थियो । नेपाली कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिन्ह उठाइरहिएको थियो । विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तो परिस्थितिमा बिपीको नेपाल आगमन भएको थियो, जसले तात्विकरूपमा निकै अर्थ राख्दथ्यो । 

बिपीको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढङ्गले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लेखित पृष्ठभूमिका केही कारक अवस्था हुन्, जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा बिपीको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ । अर्को कुरा, बिपीको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ ‘कोर्स’ लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित भूमिमा रहेका सम्बद्ध जिम्मेबारसँग पनि उनको दूरी बढिरहेको आकलन त्यसबेला गरिएको थियो । जवाहरलाल नेहरु पुत्री इन्दिरा गान्धी सन् १९७५ को इमरजेन्सीमार्फत् निकै शक्तिशाली बनको चर्चा त्यसबेला थियो । विमान अपहरणको आरोपमा केही व्यक्तिलाई भारत सरकारले पक्राउ गरेको भनिएको थियो । यस्तो अवस्थामा सायद बिपीलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ र नेपाल फर्केर कमजोर बन्दै गइरहेको प्रजातान्त्रिक आन्दोलनलाई नयाँ ढङ्गले उचाईमा पुर्‍याउनु जरुरी थियो ।   

बिपी नेपालका पूर्वप्रधानमन्त्री थिए । नेपाली कांग्रेसका सभापति थिए । यसर्थः उनको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले बिपीले नेपाल आगमन हेतु त्यही समय किन रोज्नुभयो भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई बिपीले रणनीतिकरूपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । त्यसबेलामा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः बिपीका सामु तीन चार अवस्था विश्लेषणयोग्य थिए । पहिलो, राजा महेन्द्रको अवसान भई राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मकरुपमा प्रजातन्त्रमा विश्वास गर्छन् भन्ने मानिन्थ्यो । 



अतः हिजोको राजासँगको व्यक्तित्वको लडाई अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको सङ्घर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्छ भन्ने बिपीको बुझाई हुन सक्छ । उनको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजा लक्षित थियो भन्न सकिने आधारहरू प्रशस्त छन् । उनले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि बिपीको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ । 

दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्नु जरुरी रहेको बिपीको बुझाई हुन सक्छ ।  प्रजातान्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आबद्ध हुन सक्थ्यो । तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सक्थ्यो र नेपाली कांग्रेसमाथिको आफ्नो नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो ।  



सम्भवतः यी यस्ता आधार थिए जसले बिपीलाई त्यही समयमा नेपाल फर्कन प्रेरित गरेको हुन सक्छ । तर, जे होस तत्कालीन राष्ट्रिय राजनीतिमा बिपीको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो, यसमा विमति हुन सक्दैन । सबभन्दा महत्वपूर्ण कुरा बिपी स्वदेश फर्कनु भएपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो । वैचारिक दृष्टिले कांग्रेस तुलनात्मकरूपमा केही परिपक्व भएको अनुभव गरियो । 

आज नेपालमा राजतन्त्र छैन । वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन । कांग्रेसले पनि नयाँ उचाइ र कलेवर प्राप्त गरेको छ । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा रहेको असंग्लगन आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बिपी र नेपाली कांग्रेसको यो नीति, आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ ? यसको जवाफ हो, छ । बरु हिजोको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ । हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उपयोगले सार्थक परिणाम सिर्जना गर्न सक्छ । 

देश आज सङ्घीयतामा गएको छ । नयाँ संविधान कार्यान्वयनको अवस्थामा छ । हिजोका भन्दा फरक राजनीतिक अवस्था छ । राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ । भू–राजनीतिक अवस्था संवेदनशील छ । यस्तो अवस्थामा शायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ । यस्तोमा मेलमिलापको सान्दर्भिकता बढेर गएको कुरामा दुई मत हुन सक्दैन । नेपालको विकास अपरिहार्य रहेको अवस्थामा नेपालका सबैथरि राजनीतिक शक्तिका बीच न्यूनतम् समझदारीको आवश्यकतालाई अस्वीकार गर्न सकिँदैन । यस परिस्थितिमा बिपीको राष्ट्रिय मेलमिलापको नीतिले सार्थक परिणाम दिन सक्छ र हाल देशले राजनीतिक निकास नपाइरहेको अवस्थामा निश्चय पनि निकास पहिल्याउन सक्छ । रासस

  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १४:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया