टोकियो विमानस्थलमा दुर्घटनाका कारण तीन सयभन्दा बढी उडान प्रभावित


जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुवाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए । हवाइजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउसो विमानको भग्नावशेषको जाँच गरेको छ भने प्रहरीले पनि दुर्घटनास्थलको निरीक्षण गरेको थियो । 

सुरक्षा बोर्डले सामुद्रिक सुरक्षा गार्डको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू भेट्टाएको र होक्काइदो प्रान्तको न्यू चिटोस विमानस्थलबाट उडेको जापान एयरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमहरू अधिकारीलाई उद्धृत गरी जनाएका छन् ।  

जापानको राष्ट्रिय समाचार एजेन्सी क्योदोले जापान एयरलाइन्सलाई उद्धृत गर्दै भनेको छ, ‘विमानका चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोलको पुष्टि भएपछि अवतरण प्रक्रिया अघि बढाएको र उडानका क्रममा विमानमा कुनै असामान्यता नभएको बताएका थिए ।’ 

दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग केही घण्टाका लागि बन्द गर्नुपरेको थियो जसका कारण हनेदाबाट आउने र जाने २२६ उडान रद्द भएका थिए जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भएका थिए ।

बुधबार तीनवटा धावनमार्ग खुला गरिए पनि दिनभरि करिब १ सय वटा उडान बन्द हुने अनुमान गरिएको छ, जसका कारण १९ हजार यात्रुको यात्रा योजना प्रभावित हुनेछ । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १३:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया