विद्यालयमा जङ्कफुड निषेध, विद्यार्थीले उत्पादन गरेको तरकारी दिवा खाजामा प्रयोग

म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । 

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिए । 

‘स्थानीयस्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौँ’, उनले भने, ‘विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी तरकारी लगाएका छौँ । दिवा खाजाका लागि ताजा तरकारी किन्नुपरेको छैन ।’ बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । 

करेसाबारी निर्माण र व्यवस्थापन गर्न विद्यालयले शिक्षक अर्जुन खत्री, सुनिता गौतम र लक्ष्मी शर्मालाई जिम्मेवारी तोकेको छ । शिक्षक खत्रीले विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हासिल गरेका बताए । शिक्षक गौतमले तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रक बनाएका बताए । उनका अनुसार विद्यार्थीलाई दुना टपरी बनाउने सीप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगतरूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ । 

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । अर्का शिक्षक तीर्थबहादुर बानियाँले विद्यालय परिसरको खाली जग्गामा तरकारी खेती विस्तार गर्न लागिएको बताए । खाली र बाँझो जग्गाको सदुपयोग भएको छ । विद्यालय परिसरमा सौन्दर्यकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना भएको छ । विद्यालय हराभरा बनेको छ । 

रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । फुर्सदको समयमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि उपचारत्मक कक्षा सञ्चालन गरेको छ । आठजना दरबन्दी, एकजना निजी स्रोतका शिक्षक, एकजना बालविकास र एकजना कर्मचारी छन् ।  





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १२:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया