कृष्णप्रसाद सिटौलाले किन रोजे राष्ट्रियसभा ?
फाइल तस्बिर

संविधान निर्माण गर्दा मस्यौदा समितिको सभापति भएर महत्वपूर्ण जिम्मेवारी निभाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला संविधान जारी भएपछि भने संसद् प्रवेश गर्नै पाएनन् । 

१३ महिनाअघि चुनावमा भोट माग्न मतदातामाझ पुग्दा फेरि चुनाव नलड्ने स्वघोषणा गरेका उनले अन्ततः आफैंले नेतृत्व गरेको संविधान बमोजिमको संघीय संसद् छिर्न राष्ट्रिय सभाको सजिलो बाटो रोजेका छन् । 

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता अग्रगामी व्यवस्था संविधानमा अटाउन लबिङ गरेका सिटौला झापा–३ मा राजासहितको हिन्दु राज्यको वकालत गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग दुई पटक पराजित भए । तर, यसपटक भने चुनाव जितेर कार्यकारी पदमा आउने रहर छोडेर सिटौला फेरि संवैधानिक भूमिकामै फर्किएका छन् । 

उनलाई राष्ट्रिय सभाको अध्यक्षकै उम्मेदवार बनाउने पूर्वसहमतिसहित सत्ता गठबन्धनले कोशी प्रदेशबाट अन्यतर्फ राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ । 

कांग्रेस मुख्यालयमा सोमबार बिहानसम्म टिकटका लागि लडाइँ चलिरहँदा सिटौला भने आइतबार साँझ नै राष्ट्रिय सभा सदस्यको टिकट बोकेर विराटनगर पुिगसकेका छन् । संसद्मा संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेका सिटौला करिब १० वर्षपछि अब फेरि संसद् प्रवेश गर्ने पक्का भएको छ । 

शान्ति प्रक्रिया र संविधान निर्माणमा सिटौलाले खेलेको समन्वयकारी भूमिका कांग्रेसभित्र मात्रै होइन, नेपाली राजनीतिमै प्रशंसाको विषय बन्छ । तत्कालीन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रिय पात्रकारूपमा रहेका सिटौलाले द्धन्द्धको दल–दलमा फसेको देशलाई शान्तिको बाटोमा, र राजतन्त्रमा अल्झिएको समाजलाई लोकतन्त्रसम्म ल्याइपुर्‍याउन समन्वयकारी भूमिका खेलेको भन्दै उनको प्रशंसा हुने गरेको छ । 



गिरिजापछि सुशील कोइरालाको कालमा नै सिटौलाले संविधान निर्माणको नेतृत्व गरे । तर, कोइरालाको निधनपछि भने आफैं पार्टीको प्रमुख कार्यकारी बन्ने महत्वाकांक्षा राखेर वैकल्पिक ध्रुवीकरण गरेका सिटौला पछिल्लो दशक निरन्तर पार्टीभित्रकै शक्ति संघर्षमा सीमित रहे । 

वर्तमान सत्ता गठबन्धन निर्माण र सञ्चालनमा समेत समन्वयकारी काम गरेका सिटौला अहिले पार्टीभित्र मात्रै होइन, गठबन्धनभित्रबाट समेत सर्वसम्मत राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका छन् । 



१३ महिनाअघि चुनाव हारेका सिटौलालाई उम्मेदवार नबनाउन कांग्रेसभित्र चर्को दबाब थियो । तर, आइतबार बसेको बैठकमा ‘सिटौलालाई उम्मेदवार नबनाऔँ’ भनेर कसैले बोल्न सकेन । त्यसो त सिटौलालाई उम्मेदवार बनाउन प्रस्तावकमध्ये प्रधानमन्त्री पुष्पकमल दाहालसमेत पर्छन् । 

एक नेताका अनुसार गठबन्धनको बैठकमा सिटौलालाई राष्ट्रिय सभा सदस्य बनाएर राष्ट्रिय सभाको अध्यक्ष बनाउन प्रधानमन्त्री दाहालले नै प्रस्ताव गरेका थिए । ‘गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने सहमति थियो । त्योबाहेक अरू पदको बाँडफाँट भएको थिएन,’ ती नेताले भने, ‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादी र माधव नेपालहरूले पनि दाबी गर्न सक्थे । तर, उहाँहरूले नै सिटौलाजी हो भने हाम्रो दाबी रहँदैन भनेर छोडिदिनुभयो ।’

ती नेताका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत सहमति दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा सिटौलालाई अघि सार्न बाध्य बनेका हुन् । त्यसो त सिटौलाले देउवालाई लगाएको गुन पनि कमजोर भने छैन । १३ औँ महाधिवेशनमा सिटौलाकै निर्णायक सहयोगमा देउवा पार्टी सभापति बनेका थिए । १४ औँ महाधिवेशनमा त झन् सिटौला देउवालाई सभापति बनाउनकै लागि सभापतिको उम्मेदवार समेत भएनन् ।

पार्टीमा होस् वा सत्ता सञ्चालनमा, असहज परेको जुनसुकै बेला सिटौला देउवाको सहयोगी बन्न पुग्छन् । त्यसकारण पनि देउवा सिटौलालाई राष्ट्रिय सभाको सदस्य र अध्यक्षसम्म बनाउने गरी तयार भएका छन् ।

आइतबार बेलुका नै कोशी पुगेका सिटौलाले सोमबार उम्मेदवारी दर्ता गर्दैछन् । सत्ता गठबन्धनको पक्षमा बलियो मतभार भएकाले सिटौलाले जित्ने निश्चित जस्तै छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष मतदाता हुन्छन् । 

कोशीमा प्रदेश सभा सदस्य २७४ जना छन् भने स्थानीय तहका प्रमुख, उपप्रमुख २७४ जना छन् । यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ छ । 

कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका १ सांसद छन् । 

यसरी प्रदेशसभामा एमालेको मतभार दुई हजार १२०, कांग्रेसको एक हजार ५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

त्यस्तै, १३७ स्थानीय तहमध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन प्रमुख÷उपप्रमुख छन् । 

यसरी हेर्दा एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुनेछ । प्रदेशको कुल मतभार जोडेर हेर्दा एमालेको ४ हजार २१०, कांग्रेसको तीन हजार ७२२ र माओवादी केन्द्रको एक हजार २७८ हुनेछ । 

एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार कायम हुन्छ । यसअनुसार गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको कुल मतभार ५ हजार ४८३ हुन्छ । जुन एमालेको भन्दा १ हजार २६४ ले बढी हो ।  

  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार ९:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया