मुलुकको विकासभन्दा ‘सकल राष्ट्रिय खुसी’ लाई प्राथमिकता दिने लामो समयदेखिएको नीतिलाई चुनौती दिने आर्थिक खतरा हावी भएको भुटानमा मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टीले विजय हासिल गरेको सञ्चारमाध्यमले बताएका छन् ।
मतदान गर्ने धेरै मानिसको मनमा महत्त्वपूर्ण कुरा भनेको बौद्ध–बहुल भूटानको युवा पुस्ताको सङ्घर्ष, दीर्घकालीन युवा बेरोजगारी र प्रतिभा पलायन हो । निर्वाचनमा दुवै दल ‘जनताको खुसी र कल्याण’ द्वारा आफ्नो सफलता मापन गर्ने सरकारको संवैधानिकरूपमा स्थापित दर्शनका लागि प्रतिबद्ध छन् ।
दि भूटानी अखबारका अनुसार तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) ले संसदमा करिब दुई तिहाइ सिट जितेको छ । जितसँगै ५८ वर्षीय संरक्षण अधिवक्ता तोब्गे दोस्रोपटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ ।
अखबारले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा तोब्गेको पिडिपीले सन् २०२४ को संसदीय निर्वाचनमा ३० सिट जितेको र भूटान टेन्ड्रेल पार्टी (बिटिपी) ले बाँकी १७ सिटमा कब्जा जमाएको बताएको छ ।
निर्वाचनअघि जारी गरिएको आधिकारिक समय तालिकाअनुसार निर्वाचन आयोगले नतिजाबारे तत्काल कुनै पुष्टि गरेको छैन । बुधबार अन्तिम नतिजा जारी हुने अपेक्षा गरिएको छ ।
सामूहिक पलायन
स्विट्जरल्यान्डजस्तै जमिनले घेरिएको करिब ८ लाख जनसङ्ख्या भएको पहाडी मुलुक भुटानमा केही मतदाताले मतदान गर्न धेरै दिनको यात्रा गर्नुपरेको छ । राजधानी थिम्पुमा मतदान गरेपछि २२ वर्षीय छात्र उग्येन छिरिङले भने, ‘भुटानमा रोजगारीका अवसरहरू कम छन् र युवाहरू हरियाली स्थानका लागि विदेश जान नपरोस् भनेर नयाँ सरकारले यसलाई समाधान गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।’
विश्व बैंकका अनुसार भूटानको बेरोजगारी दर २९ प्रतिशत छ । पछिल्लो पाँच वर्षमा आर्थिक विकास औसत एक दशमलव सात प्रतिशतको दर बढेको छ । निर्वाचनका क्रममा तोब्गेले भुटानको अभूतपूर्व आर्थिक चुनौती र ठूलो सङ्ख्यामा पलायनबारेमा चेतावनी दिए ।
प्रत्येक आठमध्ये एक जनाले खानाका लागि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको उनको पार्टीको घोषणापत्रमा सरकारी आँकडालाई उद्धृत गरिएको छ ।
उनका निर्वाचन प्रतिद्वन्द्वी बिटिपीका नेता तथा करियर निजामती कर्मचारी पेमा चेवाङले पनि मुलुकले ‘राष्ट्रको क्रिम’ गुमाउँदै गरेको चेतावनी दिएका छन् ।
विदेशमा राम्रो आर्थिक तथा शैक्षिक अवसरको खोजी गरिरहेका युवाहरूले पछिल्लो निर्वाचनदेखि रेकर्ड सङ्ख्यामा मुलुक छाडेका छन् । उनीहरूको शीर्ष गन्तव्यमा अस्ट्रेलिया परेको छ ।
एक स्थानीय समाचार रिपोर्टअनुसार गत जुलाईअघि १२ महिनामा करिब १५ हजार भुटानीलाई भिसा जारी गरिएको थियो । यो पछिल्लो ६ वर्षभन्दा धेरै र मुलुकको जनसङ्ख्याको करिब दुई प्रतिशत हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।