भारतमा ८ वर्षअघि हराएको सैन्य विमान दुर्घटनाको भग्नावशेष फेला

भारतले करिब ८ वर्षअघि समुद्रमा हराएको २९ जना सवार भारतीय वायुसेनाको यातायात विमानको भग्नावशेष प्राप्त हुने सम्भावना रहेको शुक्रबार बताएको छ । 

रुसमा निर्मित एन्टोनोभ एएन–३२ विमानले सन् २०१६ जुलाईमा भारतको दुर्गम अण्डमान र निकोबार द्वीप समूहका लागि नियमित कुरियर सेवाका क्रममा सेवाकर्मी र चालक दलका ६ सदस्यलाई बोकेको थियो । 

दक्षिणी सहर चेन्नाई नजिकै वायु सेनाको आधारबाट उडान भरेको १५ मिनेटपछि उक्त विमानको हवाई ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो । विमान हराएपछि उक्त समय खोज र उद्धार प्रयासले विमान खोजी गर्न सकेको थिएन । 

बङ्गालको खाडीमा समुद्री तलको सर्वेक्षण गर्ने गहिरो समुद्री ड्रोनले चेन्नाईको दक्षिणमा एक सय ४० समुद्री माइल (३ सय १० किलोमिटर) दक्षिणमा ३ हजार ४ सय मिटर (११ हजार एक सय ५० फिट) गहिराइमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारेको रक्षा मन्त्रालयले बताएको छ । 

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘तस्बिरहरू एएन–३२ विमानसँग मिल्दोजुल्दो भेटिएको छ, सम्भावित दुर्घटनास्थलमा गरिएको खोजमा भग्नावशेषले सम्भवतः दुर्घटनाग्रस्त आईएएफ एएन–३२ लाई औँल्याएको छ ।’ उक्त क्षेत्रमा कुनै पनि अन्य विमान हराएको सूचना प्राप्त भएको छैन । 

एएन–३२ विमान बिना इन्धन चार घण्टासम्म उडान भर्न सक्षम छ र यो भारतीय वायुसेनाको वर्कहर्स यातायात विमान हो । यद्यपि रुस निर्मित उपकरणहरूमा अधिक निर्भर रहने भारतीय वायुसेना खराब सुरक्षा रेकर्डका कारण चिन्तित छ । 



हराएको विमानको राडार डेटाबाट तीव्ररूपमा उचाइ गुमाउनुअघि तीव्ररूपमा बायाँतिर मोडिरहेको थाहा भएको भारतीय वायुसेनाको एक स्रोतले सन् २०१६ मा एएफपीलाई बताएको थियो । 

भारतका रक्षा प्रमुख जनरल बिपिन रावतको सन् २०२१ मा १२ अन्य व्यक्तिसँगै मृत्यु भएको थियो । रुसमा निर्मित उनको एमआई–१७ हेलिकप्टर दक्षिणी राज्य तामिलनाडूमा दुर्घटनाग्रस्त भएको थियो । त्यसको अर्को वर्ष सोभियत कालको मिग–२१ लडाकू विमान राजस्थानमा प्रशिक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो । 



गत वर्ष राजधानी नयाँदिल्लीको दक्षिणमा अभ्यासका क्रममा रुसमा निर्मित सुखोई एसयु–३० र फ्रान्समा निर्मित मिराज २ हजार आकाशमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको थियो । 

भारतमा एएन–३२ सँग सम्बन्धित सबैभन्दा भयानक दुर्घटनामध्येको एक सन् १९९९ मा नयाँदिल्ली विमानस्थल नजिकै भएको दुर्घटनालाई मानिन्छ । उक्त दुर्घटनामा विमानमा सवार २० जनाको मृत्यु भएको थियो र तीन नागरिक जमिनमा जलेर मरेका थिए । 

वायुसेनाले विस्तारै आफ्ना केही पुराना विमानबाट छुटकारा पाइरहेको छ । तीमध्ये केही विमान सन् १९६० दशकका छन् । भारतले आफ्ना पुराना सैन्य विमानलाई नयाँ रूप दिन गरेको ढिलाइले राष्ट्रिय सुरक्षामा खतरा भएको विशेषज्ञले चेतावनी दिएका छन् । 

  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार २२:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया