इक्वेडरको जेलमा कैदीको बन्धकमा कर्मचारी : ४१ जना रिहा, १३६ अझै बन्धक

इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । 

प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् । राष्ट्रपति डेनियल नोबोआले यसै हप्ता आपराधिक समूहहरूलाई सैन्य कारबाही सुरु गरेपछि दक्षिण अमेरिकी राष्ट्रमा नार्को गिरोहसँग घातक मुठभेड सुरु भएपछि ती कामदारहरूलाई बन्धक बनाइएको थियो । 

यो सङ्कट देशको सबैभन्दा शक्तिशाली ड्रग कारोबार गर्ने समूहका एक नाइके फिटो भनिने जोस एडोल्फो म्यासियासको ग्वायाक्विल जेलबाट भागेपछि उत्पन्न भएको थियो । फिटो भागेपछि जेलमा दङ्गा, बन्धक बनाउने र प्रहरीमाथि आक्रमणहरू भएका थिए ।

भागेका कैदीलाई खोज्न र बन्धकलाई रिहा गर्न स्थल, हवाई र समुद्री गस्तीका लागि २२ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ । अधिकारीहरूले शहरका मुख्य भागमा कर्फ्यू लगाइ जेलहरूमा छापा मारेका छन् । 

पेरुसँगको सीमा नजिक एल ओरोमा शनिबार कैदीहरूसँगको झडपमा मारिएका एक गार्डसहित कम्तीमा १९ जनाको हिंसामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

दक्षिणपश्चिमी माचला कारागारमा सशस्त्र भिडन्त भएपछि सेना र प्रहरीले ‘सुव्यवस्था र सामान्य स्थिति बहाली’ का लागि ६ वटा सहरका हिरासत केन्द्रमा छापा मारेका थिए ।



ग्वायाकिल कारागारपरिसरबाट शुक्रबार साँझ कम्तीमा पाँच जना कैदी भागेका थिए र तीमध्ये दुई जनालाई खोजी अभियानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरू भागेलगत्तै सहरको उत्तरी बाहिरी इलाकामा रहेको विशाल कारागारको वरपर दुईवटा हेलिकोप्टर र ड्रोन उडिरहेको देखिएको थियो । इक्वेडरका कुख्यात अपराधीहरूलाई राखिएको कारागारको वरिपरि सैनिकहरूको सहयोगमा दर्जनौं प्रहरी अधिकारी गस्ती गरिरहेका छन् ।



कुनै समय प्रमुख कोकिन उत्पादकको बीचमा अवस्थित शान्तिको किल्ला, इक्वेडर संयुक्त राज्य अमेरिका र यूरोपमा लागुऔषध ढुवानी गर्न यसको बन्दरगाह प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूको वर्षौँको बढ्दो नियन्त्रणपछि सङ्कटमा फसेको छ ।

करिब एक करोड ७० लाख जनसङ्ख्या रहेको यो देशमा आपराधिक गिरोहका २० हजारभन्दा बढी सदस्य रहेको अनुमान गरिएको छ । पछिल्लो आधिकारिक रिपोर्टअनुसार ८५९ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । यस्तै, २५ जना फरार कैदीलाई पुनः पक्राउ गरिएको छ, पाँचजना ‘आतङ्ककारी’ मारिएका छन् र ५७ जनालाई रिहा गरिएको छ ।

माचला कारागारमा कैद गरिएको र प्रहरीले पुष्टि गरेको एउटा डरलाग्दो भिडियोमा कैदीहरूको नियन्त्रणमा रहेको कारागारभित्रबाट प्लास्टिकमा बेरेर सडकमा फ्याँकिएको कैदीको शव देखिन्छ । 

पछिल्ला दिनमा पक्राउ परेका सन्दिग्ध गिरोहका सदस्यहरूलाई उपहास गरिएको, गीत गाउन बाध्य पारिएको, एकअर्कालाई कुटपिट गरेको वा सैनिकहरूले दुर्व्यवहार गरेको अन्य तस्बिर सार्वजनिक भएका छन् ।

  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १३:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया