तिलको लड्डु खाँदा फाइदै-फाइदा, यस्ता छन् पोषणविद् उप्रेतीका सुझाव
फाइल तस्बिर

आज माघ १ अर्थात् माघे संक्रान्ति । माघे संक्रान्तिलाई ‘माघी पर्व’ पनि भनिन्छ । यो पर्व थारू समुदायको महान् पर्व हो । थारू समुदायबाहेक देशभरका हिन्दू धर्मावलम्बीले क्षेत्रअनुसार विभिन्न तरिकाले माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ । 

माघे संक्रान्तिमा हरेकको भान्सामा थरीथरीका परिकार पाक्छन् । तीमध्ये माघे संक्रान्तीमा विशेषगरी तिलको लड्डु, चाकु, कन्दमूलमा तरूल, पाक्छन् । माघीमा खाइने खाद्यपदार्थ आयुर्वेदसँगै चिकित्साशास्त्रमा पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ । जाडो महिनामा शरीर शुद्ध गरी घ्यू, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढ्ने गर्छ । 

तिलको लड्डुका फाइदा :

– तिलको लड्डु त सबैले नै खाने चलन छ । हेर्दा सानो तिलमा स्वास्थ्यको लागि अनेकाैँ खजाना छ । यसको प्रयोग भुटेर, पिसेर, अचार बनाएर तरकारीमा हालेर अनेक तरिकाले खान पनि सकिन्छ । 

– तिल, चाकुमा विभिन्न किसिमका सूक्ष्म पोषण तत्व हुने भएकाले बालबालिकालाई तिल र चाकु खुवाएको अवस्थामा शरीरको वृद्धि विकासमा लाभदायक हुन्छ ।

– तिलको लड्डु खानु पेटका लागि गुणकारी हुन्छ । यसको सेवनले पाचन क्षमतालाई बलियो बनाउँछ । साथै अपच, अजीर्ण, ग्याँस बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरी पेटलाई सफा राख्छ ।



– चिसोको मौसममा तिलको लड्डु खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरी न्यानो बनाउँछ । तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउँछ । चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाइदा पुर्‍याउँछ । 

– तिलको लड्डुको खानाले महिलाको अनियमित महिनावारी ठीक समयमा हुन्छ । यस्तै, महिनावारी हुँदा अत्यधिक रगत बग्ने, तल्लो पेट दुख्नेजस्ता समस्यालाई पनि निर्मूलीकरण गर्न सहयोग गर्छ । 



– तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाइने हुँदा रक्त अल्पताका समस्या भोगिरहेकालाई तिलको सेवनले विशेष फाइदा पुर्‍याउँछ ।

– तिलको लड्डु सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाइने हुनाले पौष्टिक तत्वको भण्डार हो । तिलको लड्डुमा उच्च मात्रामा भएको खनिज र भिटामिनले शरीरलाई भरपुर पोषण प्रदान गर्छ ।

– तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एन्टि अक्सिडेन्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशको लागि अत्यन्त लाभकारी हुन्छ ।

(पोषणविद् अरूणा उप्रेतीसँगको कुराकानीमा आधारित )

  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १०:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया