‘स्मार्ट फुड’ कोदो : फेरियो परिचय, बढ्यो माग
कोदो एक फाइदा अनेक, बुझौँ बहुगुणी कोदोको महत्त्व

‘चामल खाने धनी, कोदो खाने गरिब’ यो कथन विगतमा प्रचलित थियो । तर, हिजोआज सहर बजारका ठूला–ठूला होटल, रेष्टुराँमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि कोदोको परिचय बदलिएको छ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोमा अहिले धनीको आकर्षण बढ्न थालेको छ ।
 
खानपान र जीवनशैलीबारे बिस्तारै मानिसमा चेतना फैलिँदै गएसँगै कोदोलाई अहिले ‘सुपर फुड’ र ‘स्मार्ट फुड’ भन्न थालिएको छ । कोदाले स्वास्थ्यमा पुर्याउने फाइदाबारे मानिसहरूले बुझ्दै गएपछि बजारमा यसको माग र मूल्य बढ्दो छ । पछिल्लो समय एक देशमा मात्र होइन, विश्व बजारमा कोदोलाई ‘अन्तर्राष्ट्रिय ब्रान्डिङ’ गर्नुपर्ने कुरा उठ्न थालेको छ । यदि ब्रान्डिङ भएर विश्व बजारमा कोदो जान सके नेपालले समेत ठूलो लाभ लिन सक्ने देखिन्छ । 

तर, आयातकै भर

नेपालका ७७ वटै जिल्लामा कोदो खेती गर्न सकिए पनि हामी कोदो आयातमा निर्भर छौँ । पछिल्ला वर्षका तथ्यांक हेर्दा आर्थिक वर्ष २०७६–०७७ मा दुई लाख ६२ हजार पाँच सय ४७ हेक्टरमा तीन लाख २० हजार नौ सय ५३ मेटन उत्पादन भएको थियो भने २०७७-०७८ मा दुई लाख ६५ हजार ४ सय १ क्षेत्रफलमा तीन लाख २६ हजार ४ सय ४२ मेट्रिक टन उत्पादन भएको देखिन्छ । यस्तै, कृषि विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–०७९ मा दुई लाख ६७ हजार ७१ क्षेत्रफलमा तीन लाख ३९ हजार ४ सय ६२ मेट्रिक टन उत्पादन भएको थियो । ​

यस तथ्यांकलाई आधार मान्दा पछिल्लो समय कोदो उत्पादनमा केही वृद्धि भएको देखिन्छ । तर, पछिल्लो १० वर्षको तथ्यांकलाई आधार मान्ने हो भने कोदो उत्पादनको परिमाण घट्दो छ । २०७०–०७१ मा २ लाख ७१ हजार १ सय ८३ हेक्टरमा तीन लाख चार हजार एक सय ५ केजी कोदो उत्पादन हुन्थ्यो । तर, पछिल्लो समय कोदो उत्पादन बढ्दै गए पनि यति उत्पादनले माग पूर्ति गर्न सक्ने अवस्था छैन । पहिला गरिबको खाना भनेर प्रचलित कोदो अहिले सबैको जिब्रोको स्वाद बन्न थालेको छ । 

कम मलिलो तथा सुख्खा जग्गामा पनि खेती गर्न मिल्ने कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । भाते संस्कृतिले मान्यता पाएको हाम्रो समाजमा कोदोको महत्वबारे ज्ञान पाउँदै गएकाले पछिल्लो समय कोदोको माग बढ्न थालेको हो । बढ्दो मागलाई पूर्ति गर्न कोदो आयात पनि बढेको देखिन्छ । 



चालू आर्थिक वर्ष २०८०–८१ को पाँच महिना (साउन–मंसिर)मा मात्रै ३४ करोड १८ लाख ७ हजार बराबरको ६९ लाख ७७ हजार चार सय १८ केजी कोदो आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० मा ७३ करोड २० लाख १३ हजार रुपैयाँबराबरको एक करोड ८४ लाख तीन हजार चार सय ८९ केजीबराबरको कोदो आयात हुँदा २०७८–७९ मा सात करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको भन्सार विभागको तथ्यांक छ । २०७७–७८ मा तीन करोड ९९ लाख २३ हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार ८७ केजी कोदो आयात भएको थियो ।  

नगन्य मात्रामा निर्यात



कोदो ठूलो मात्रामा आयात भए पनि थोरै मात्रामा निर्यात पनि हुने गरेको छ । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा १२ लाख १० हजार रुपैयाँबराबरको १२ हजार १ सय ३२ केजी कोदो निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० मा २१ लाख २३ हजार रुपैयाँको १५ हजार ८ सय ११ केजी कोदो निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा १ केजी कोदो मात्र भारत निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै, विभागका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा एक लाख ७० हजार रुपैयाँको एक हजार आठ सय २० केजी कोदो निर्यात भएको थियो । नेपालबाट कोदो विशेष गरेर अष्ट्रेलिया, हङकङ, बेलायत, इटाली, कोरिया, बेल्जियम, अमेरिकालगायत देशमा थोरै मात्रामा निर्यात हुने गरेको छ । पछिल्लो समय विश्व बजारमा कोदोको चर्चा हुन थालेसँगै नेपालमा मात्र होइन, विश्व बजारमा यसको माग बढ्दो छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गरेको थियो ।  

राष्ट्रसंघको ७५औँ महासभाले सन् २०२१ मार्चमा २०२३ लाई ‘कोदोजन्य बाली वर्ष’का रूपमा मनाउने घोषणा गरेको थियो । ‘कोदोको उपयोगिताबारे जागरुकता फैलाउन र प्रत्यक्ष रूपमा नीतिगत प्रभाव पार्न’ यस्तो घोषणा गरिएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठनले जनाएको छ । यसरी विश्व बजारमा कोदोबारे जनचेतना जगाउने र प्रवर्द्धन गर्ने कार्य भइरहेको छ । त्यसैले नेपालले पनि कोदोको उत्पादन बढाएर ठूलो लाभ लिन सक्ने विज्ञको भनाइ छ । 

फेरियो परिचय, बढ्यो माग

पहिला गरिबको खाना भनेर प्रचलित कोदो अहिले सबैको जिब्रोको स्वाद बन्न थालेको छ । कम मलिलो तथा सुक्खा जग्गामा पनि खेती गर्न मिल्ने कोदो स्वास्थ्यको लागि पनि निकै लाभदायक मानिन्छ । 

भाते संस्कृतिले मान्यता पाएको हाम्रो समाजमा कोदोको महत्वबारे ज्ञान पाउँदै गएकाले पनि होला पछिल्लो समय कोदोको माग बढ्दो छ । आन्तरिक माग बढ्दै गए पनि कोदोको उत्पादन भने हामीले बढाउन सकेका छैनौँ । कोदोको उत्पादन कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनि घट्दै गएको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक कृष्णहरि घिमिरे बताउँछन् । भन्छन्, ‘उहिले विपन्न वर्गको आहाराका रूपमा कोदो रहेको थियो । तर, अहिले ठ्याक्कै उल्टो भएको छ । हुने खानेको रोजाइमा कोदो पर्न गएको छ ।’

कोदोमा मानिसको शरीरमा आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्त्व पाइने भएकाले यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ । तर, पछिल्ला वर्षमा सर्वसाधारण सहरकेन्द्रित हुँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेका छन् । यसरी पहाडी क्षेत्रमा जमिन बाँझो रहन जाँदा आफैंलाई पुग्ने कोदो पनि उत्पादन गर्न नसकेको उनी बताउँछन् । ‘धान मकै लगाउने बाली त सबै बाँझै हुन थाल्यो,’ उनी निरासिन्छन्, ‘झन् कोदो लगाउने बारी त बाँझो नहुने कुरै भएन । यसै पनि कोदो बाली किसानहरूको प्राथमिकतामा पर्दैन ।’

जसले गर्दा बर्सेनि करोडौँको कोदो आयत गर्नुपर्ने बाध्यता छ । आयातीत ९९ प्रतिशत कोदो मदिरा बनाउन खपत हुन्छ भने उत्पादित ४० प्रतिशत मात्रै जाँड, छ्याङ, तुङबा, रक्सीलगायत बनाउन प्रयोग हुने उनी बताउँछन् । साथै पहिला गाउँघरको मुख्य खानाको परिकारका रूपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा पर्न थालेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुराँ र होटलमा कोदोको परिकार पाक्न थालेका छन् । 

‘पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो, तर अहिले ठीक उल्टो भएको छ,’ उनी भन्छन् । उनका अनुसार पछिल्लो समय कोदोको ढिँडो, सेल रोटी, डोनट, स्याफली, बनाना फिल्टर, मःम, जेरी, एप्पल फिल्टर, खोले, केक, शंखे मीठाई, दाम्ले मीठाई, परौठा, पकौडा, गिलो रोटी, बनाना पेनकेक, एप्पल पेनकेक, सुक्खा रोटी, तोङ्बा, नमकिन, पुरीलगायत परिकार बनाएर प्रयोग गर्न थालिएको छ । कोदोको परिकारको फाइदासमेत प्रशस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको परिकार बनाएर खाने प्रचलन बढेको छ । 

यस्तो छ कोदोको महिमा !

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । यसमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत पोषक तत्व हुन्छ । कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा आठ गुणा बढी क्याल्सियम पाइने हुनाले कोदोको महत्त्व धेरै रहेको उनी बताउँछन् । 

‘कोदोको महिमा बखान गरेर सकिँदैन,’ उनी भन्छन्, ‘पौष्टिक तत्त्वको हिसाबले कोदो पहिलो नम्बरमा आउँछ । कोदो खाए शक्ति मिल्छ । किनकि यो ऊर्जाको राम्रो स्रोत पनि हो ।’ यस्तै, कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्ने उनी बताउँछन् । साथै, कोदोले मुटुका रोगी, मधुमेह, रक्तचाप नियन्त्रण राख्न मद्दत मिल्छ । यति मात्र होइन, कोदोमा प्रशस्त मात्रामा पाइने क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्याउँछ । 

यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिँडो खाने गरे आराम पाइने उनको भनाइ छ । विशेषतः गर्भवती महिलाका लागि आइरन चक्कीको विकल्पमा कोदोका परिकार बहुउपयोगी मानिन्छ । 

‘स्वास्थ्य चौकीमा महिलाहरूलाई आइरन चक्की खानुभन्दा पनि दिनकै कोदोको परिकार खान सुझाब दिनु उपयुक्त हुन्छ । कोदोमा आइरन, क्याल्सियम, फस्फोरसको स्रोत भएकाले आइरन चक्कीभन्दा कोदोको परिकाले महिलाको स्वास्थ्यलाई अझ धेरै राम्रो गर्छ,’ उनी भन्छन्, ‘कोदोले महिलासँगै बालबच्चादेखि वृद्धवृद्धा समेतलाई फाइदा गर्छ ।’ 

यस्तै, कोदो धार्मिक हिसाबले पनि महत्वपूर्ण बाली हो । नेवार, गुरुङ, तामाङलगायतका जनजातिको पूजाआजा चाडपर्वमा यसको प्रयोग अनिवार्य मानिन्छ । स्थानीय रूपमा तयार गरिएका शुद्ध जाँड तथा रक्सी धेरै नेपाली तथा विदेशीको रुचिको पेय पदार्थ पनि हो । त्यसैले कोदो मुख्य रूपमा घरेलु रक्सी बनाउन निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

उनका अनुसार कोदो मानव स्वास्थ्यका लागि मात्र होइन, पशु आहारका लागि पनि उत्तिकै महत्वपूर्ण छ । कोदोको नलमा समेत ६–७ प्रतिशत प्रोटिन हुन्छ । जसले पशुलाई पनि उत्तिकै फाइदा पुग्ने उनी बताउँछन् । उनका अनुसार सीमान्त जग्गामा खेती गरिने कोदो बालीले खाद्य तथा पोषण सुरक्षामा ठूलो योगदान पुग्दछ । त्यसकारण कोदोका परिकार बनाउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै कोदोे खेतीमा आकर्षण बढाउन सबै सघंसंस्था तथा सरोकारवालाबीच समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।

आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने सम्भावना 

कोदो मात्र एउटा यस्तो बाली हो, जुन नेपालका ७७ वटै जिल्लामा उत्पादन हुन्छ । नेपालको तराईदेखि समुद्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ । ७७ जिल्लामै कोदो खेती भए पनि सबैभन्दा बढी खेती हुने जिल्लामा खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा, मकवानपुर र सिन्धुली रहेका छन् । तर, मनाङ र मुस्ताङमा कम हुने गरेको उनी बताउँछन् । 

उनका अनुसार कोदो सुख्खा सहन सक्ने बाली हो । यो बाली कम वर्षा हुने क्षेत्रमा, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चित दुवै अवस्थामा पनि उब्जनी हुन्छ । ‘नेपालमा सिचाइँको ठूलो समस्या छ,’ उनी भन्छन्, ‘तर, कोदोमा पानी खासै आवश्यक नपर्ने हुनाले धान, मकैजस्ता बालीहरू सिँचाइ नभएको पाखो जमिनमा पनि सहजै खेती गर्न सकिन्छ । कम लागतमा उत्पादन हुन सक्ने र खाद्य सुरक्षाको दृष्टिकोणले विपन्न कृषकका लागि यो उपयुक्त महत्वपूर्ण बाली हो ।’ जलवायु परिवर्तनका कारण पनि कोदो खेती उपयुक्त देखिएको उनी बताउँछन् । ‘कोदो कम मलिलो माटो, सुक्खा र अन्य बालीका लागि अनुकुल नहुने वातावरणमा पनि राम्रो उब्जनी हुन्छ,’ घिमिरे भन्छन्, ‘यसका लागि उच्च मल र विषादीको पनि आवश्यक नपर्ने र परम्परागत रूपमा खेती गरेर पनि राम्रो उत्पादन लिन सकिन्छ ।’ ​

यति मात्र होइन, बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन बढी गर्न सकिने उनी बताउँछन् । यस्तै, कोदो मात्र यस्तो अन्न हो जसमा घुन र किराहरूले कुनै नोक्सान पुर्याउन सक्दैन । यसलाई चिसो र सुख्खा ठाउँमा राख्यो भने धेरै वर्षसम्म बिग्रिँदैन । 

कसरी लिने लाभ, के छन् सरकारका योजना ?

अझै पनि नेपालमा कोदो खेती र उत्पादन वृद्धि हुन सकेको छैन । यसको महत्व मानिसहरूलाई अझै बुझाउन सकिएको छैन । तर, पछिल्लो समय सरकारले पनि कोदोलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८०-८१ को बजेटमा नै कोदोजन्य स्थानीय रैथाने बालीलाई प्रवद्र्धन गर्ने कार्यक्रम राखिएको छ । जसमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ बजेटमा परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बीऊ संरक्षण गरी खेती विस्तार गरिने उल्लेख छ । साथै कर्णाली प्रदेशलगायत विभिन्न गाउँपालिकाहरूले कोदोलाई प्रवद्र्धन गरिरहेका छन् । 

‘कतिपय गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई अनुदान नै दिने गरेका छन्,’ वरिष्ठ वैज्ञानिक घिमिरे भन्छन्, ‘यसले गर्दा केही किसान कोदो खेतीमा आकर्षित भएका छन् । अब हरेक पालिकाले खोदो खेती प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

यसका साथै कोदोको मदिरालाई ब्रान्डिङ गर्ने हो भने नेपालले ठूलो लाभ लिन सक्ने उनी बताउँछन् । उनका अनुसार नेपालले ठूलो मात्रामा विदेशबाट महँगा मदिरा आयात गर्दै आएको छ । यदि घरेलु अवस्थामा रहेको कोदोको मदिरालाई औद्योगिकीकरण र ब्रान्डिङ गर्न सके नेपालले ठूलो लाभ लिनसक्ने देखिन्छ । कोशी प्रदेशले सोही अनुसार नीति तथा कार्यक्रममार्फत नै उक्त योजनालाई अघि बढाउने घोषणा गर्दै आएको छ । यदि उक्त कार्यक्रम कार्यान्वयन हुन सके नेपाली अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ । एउटा प्रदेश मात्र होइन, प्रत्येक प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने वरिष्ठ वैज्ञानिक घिमिरे बताउँछन् । 

यस्तै, उच्च पहाडी क्षेत्रहरूमा चामलमा बर्सेनि ठूलो रकम खर्च भइरहेको छ । तर पनि कतिपय नागरिकले पैसा तिरेर पनि चामल नपाउने अवस्था छ । त्यस्तो अवस्थामा कोदो दिगो उपाय हुने उनको भनाइ छ । ‘पैसा तिर्छु भन्दा पनि मानिसहरूले चामल पाइरहेका छैनन्,’ उनी भन्छन्, ‘त्यसैले दिगो उपायका लागि उच्च पहाडी क्षेत्रमा स्थानीय तहमा उत्पादन हुन सक्ने कोदो उत्पादनमा प्रवद्र्धन गरेर कोदोको महत्व बुझाउन जरुरी छ । यसो भए स्थानीय बालीको सदुपयोग र खाद्य सुरक्षा कायम हुन्छ ।’

त्यस्तै, हरेक होटल तथा रिसोर्टहरूमा स्थानीय खानाका रूपमा कोदोको परिकार उपलब्ध हुन सके उपभोक्तासँगै पर्यटन व्यापार फस्टाउने, कृषकको आम्दानी वृद्धि हुने तथा रोजगारीको अवसरसमेत सिर्जना हुने देखिन्छ । 

पछिल्लो समय कोदो खेती छाड्ने प्रचलन बढ्दो छ । त्यसकारण सरकारको तर्फबाट पनि यसको उत्पादन वृद्धिका लागि कोदो प्रवर्द्धन कार्यक्रम ल्याउन जरुरी छ । त्यसका लागि कृषकलाई सहुलियत दरमा बिउ, मल, कृषि सामग्री, ऋणको सहज व्यवस्था गर्नुका साथै भण्डारण र ओसारपसार तथा निर्यातमा अनुदान र प्रोत्साहनको व्यवस्था गर्न सके किसान कोदो खेतीतर्फ लाग्ने उनको आकलन छ ।  

साथै कोदोलाई चामल र गहुँको विकल्पका रूपमा विकास गर्दै कोदोका विभिन्न परिकारको अनुसन्धान, विकास र बजारीकरणमा ध्यान दिँदै यसको महत्त्वका बारेमा प्रचारप्रसार हुन पनि जरुरी छ । यो गर्न सके नेपाल चाँडै कोदोमा आत्मनिर्भर भई राष्ट्रिय गौरवको अन्नको रूपमा परिचित हुने देखिन्छ । यसका लागि नेपाल सरकारले कोदोका उत्पादनमा व्यावसायिक लगानीको वातावरण सिर्जनामा आफ्नो प्रयास केन्द्रित गर्नुपर्छ ।  

  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १८:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया