लगानी सम्मेलनका लागि चार हजार दुई सय प्रहरी परिचालन

काठमाडौं– नेपालमा हुन लागेको तेस्रो लगानी सम्मेलनका लागि प्रहरी प्रधान कार्यालयले ४ हजार २ सयभन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ । लगानी सम्मेलनस्थल तथा स्वदेशी र विदेशी लगानीकर्ताको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले यति संख्यामा प्रहरी परिचालन गर्न लागेको हो ।

काठमाडौंमा शुक्रवार र शनिबार हुन लागेको सो सम्मेलनमा ६ सय भन्दा बढी विदेशी र ३ सयभन्दा बढी स्वदेशी लगानीकर्ता सहभागिता रहने निश्चित भएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजना हुने सम्मेलनमा ४० मुलुकबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) श्याम ज्ञवालीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको नियमित ड्युटीबाहेक सम्मेलनकै लागि मात्र ठूलो संख्यामा प्रहरी खटाइएको हाे । प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलदेखि कार्यक्रम स्थलसम्म स्कर्टिङ गर्न र सम्मेलनस्थलको सुरक्षार्थ प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको कमान्डमा विशेष टिम परिचालन गरिएको छ ।

सरकारले सम्मेलनका लागि आउने लगानीकर्ताका लागि काठमाडौंका १९ र ललितपुरका ३ होटलमा बसोवासको व्यवस्था मिलाएको छ । लगानीकर्ता बस्ने बौद्ध, ठमेल, लाजिम्पाट र दरबारमार्गका होटलमा प्रहरी परिचालन भइसकेका छन् ।

लगानी सम्मेलनलाई असर पार्ने उद्देश्यले विप्लव नेतृत्वको नेकपाले यसअघि चैत १६का लागि बन्द आह्वान गरेकाले सरकारले विशेष सुरक्षा अपनाएको हो । यद्यपि, सो समूहले बन्द फिर्ता लिइसकेको जनाएको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार १४:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया