हुम्लामा यस वर्षकै चिसो महसुस, तापक्रम माइनस १० मा झर्‍यो
फाइल तस्बिर

हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँद याममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् । 

जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मंगलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ । 

जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले बताए । उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको छ ।

‘आज हुम्लाको तापक्रम माइन १० डिग्री सेल्सियसमा रहेको छ, भने उत्तरी नाम्खामा तापक्रम झन् घटेको छ’, प्रमुख सिंहले भने । 

जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गरेका छन् । उनले चिसोले वृद्ध वृद्धा र बालबालिकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गरे । 

चिसो ह्वात्तै बढेपछि स्थानीयवासी तथा कर्मचारीले दैनिक उपयोगका लागि दाउरा सङ्कलन गर्न थालेका छन् । जाडो मौसममा एक भारी दाउराको मूल्य एक हजारसम्म पर्ने गरेको छ । 



आज चिसो बढी भएपछि सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न समस्या भएको छ । चिसोमा सेवाग्राही कम आउने भएकाले सेवा लिन आएका सेवाग्राहीलाई विद्युत्को प्रयोग गरी हिटर तापेर सेवा दिइएको शिखर इन्स्योरेन्स प्रालि हुम्ला शाखाका उपेश भण्डारीले बताए । 

चिसोले सेवा प्रवाहमा समस्या बनाएको सिमकोट गाउँपालिका–२ ठेहेका वडाध्यक्ष देवजङ बोहराले बताए । यसअघि दिउँसो घाम लागेर चिसो कम मानिए पनि आज बिहानैदेखि घाम नलाग्दा अत्यधिक चिसो भएको उनको भनाइ थियो । 



बादल लागेसँगै अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल प्रमुख सिंहले जानकारी दिए ।  

  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १५:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया