मधेसका मुख्यमन्त्रीले तेस्रोपटक विश्वासको मत लिनुपर्ने, पद कति सुरक्षित ?

जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सरोज यादवले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता यादव  २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

उनले यसअघि २०७९ माघ ४ गते पहिलोपटक मधेस प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएका थिए । २०८० जेठ १ गते एमालेले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत पाएका थिए ।

माघ १० गते जनमत पार्टी मधेस सरकारबाट बाहिरिएपछि यादवले ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने भएको छ । मंगलबार जनमत पार्टी सरकारबाट बाहिरिएपछि १३ महिने कार्यकालमा मुख्यमन्त्री यादवलाई तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । 

यद्यपि सरकारलाई अझै बहुमत सांसदको समर्थन रहेकाले उनले विश्वासको मत प्राप्त गर्ने देखिन्छ । एक सय सात सदस्यीय मधेस प्रदेशसभामा मुख्यमन्त्री यादवलाई अझै ६९ सांसदको समर्थन छ भने विपक्षमा जम्मा ३७ सिट मात्रै छ । 



यादवलाई नेपाली कांग्रेसका २२, जसपाका १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९, नेकपा (माओवादी केन्द्र)का ९, नेकपा (एकीकृत समाजवादी)का ७, नेपाल संघीय समाजवादी पार्टीका एक, नागरिक उन्मुक्ति पार्टीका एक र एक स्वतन्त्र सांसदको समर्थन छ । 

एमालेका २३, जनमत पार्टीका १३ र राप्रपाका एक सांसद मात्रै विपक्षमा रहने अवस्थामा यादवले मुख्यमन्त्रीमा निरन्तरता पाउनेछन् । 



  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार २३:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया