‘सुर्तीकली’को सहयोगमा ‘शेषचन्द्र’ले पाए तालिम, अबदेखि शुक्लाफाँटामा पर्यटक घुमाउने

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । 

शनिबार शेषचन्द्रले तालिम पूरा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताए । ‘शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ,’ उनले भने, ‘हात्तीलाई परिचालन गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।’ उनले हाल निकुञ्जमा दुईवटा छावासहित आठ हात्ती रहेका बताए ।  

तालिमको सुरुआतका बेला वयस्क हात्तीको सहारामा जङ्गलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्ररूपमा हिँडडुल गरिरहेका हात्तीलाई इसारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिने गरिन्छ । शेषचन्द्रलाई नियन्त्रितरूपमा हिँडाउन हात्तीसारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएका हात्तीसारका शिवदत्त चौधरीले जानकारी दिए ।  
    
‘हात्तीलाई तालिम दिनुभन्दाअघि एउटा खम्बा तयार पारिन्छ, त्यसलाई खमारा भनिन्छ’, चौधरीले भने, ‘खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ । डोरी अल्झिने उचाई र हात्तीको घाँटीको उचाइ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । हात्तीलाई तालिम जसले दिने हो, उसैले पूजा गर्नुपर्छ ।’ चौधरीका अनुसार हात्तीलाई पूर्णरूपमा तालिम दिन कम्तीमा एक महिना लाग्ने गर्छ । 

‘हात्तीलाई तालिम दिने वा हात्तीमा चढ्नेलाई बहकिया भनिन्छ’, उनले भने, ‘दिनमा जङ्गल घुमाएर ल्याएपछि हात्तीलाई बिहान पूजा गरेको खम्बामा बाँधिन्छ । यसका साथै अगाडि र पछाडिका खुट्टा पनि बाँधिन्छ ।’ हात्तीको घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बन्डा भनिन्छ । ‘जबसम्म बहकियाको भनेको टेर्दर्नै तबसम्म बस्न दिइँदैन र खम्बाबाट सारिँदैन, राति सुत्न पनि दिइँदैन’, चौधरीले भने, ‘कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।’ 

चौधरीका अनुसार भनेको मान्ने र उठबस गर्न थालेपछि वयस्क हात्तीकै सहारामा हात्तीमाथि बसेर पनि तालिम दिइन्छ । ‘दुई हात्तीको बीचमा हालेर दायाँबायाँ गर्न नदिएर अगाडि लैजान दुवैतर्फ वयस्क हात्तीलाई हिँडाइन्छ’, उनले भने, ‘उकालो–ओरालो र पानी सबै ठाउँमा हिँड्न सक्नेगरी तालिम दिइन्छ, तालिमका बेलामा निडर बनाउन आगो देखाउने, गाडी देखेर नडराओस् भनेर सडकमा समेत हिँडडुल गर्न सिकाइन्छ ।’

हात्तीलाई दुईदेखि तीन वर्ष छ महिनाभित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुनसक्छ । शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठ मात्रै छन् । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएको छन् । रासस 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार ८:३४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया