मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की
फाइल तस्बिर

मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । 

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । 

तत्कालका लागि तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्ति गर्ने तयारी कार्कीको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।  

माओवादी केन्द्रबाट कतिजना मन्त्री बन्ने भन्ने यकिन छैन । एकजना मन्त्री बन्ने अवस्था आए उदयपुरका नारायण बुर्जा मगरले अवसर पाउने सम्भावना छ ।

माओवादीको भागमा दुईजना पर्ने अवस्थामा भने संखुवासभाका राजेन्द्र कार्की पनि मन्त्री नियुक्त हुनसक्ने सम्भावना छ । सरकारमा माओवादीले थप दुईजना मन्त्री दाबी गर्दै आएको छ । 

कोशी प्रदेश सरकारमा हाल कांग्रेसबाट मुख्यमन्त्री कार्कीसहित आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन् ।



कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । 



  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १०:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया