हात्ती प्रभावित क्षेत्रमा ‘हात्ती कोरिडोर’ बनाउन अध्ययन गरिँदै

कोशी  प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रमा ‘हात्ती कोरिडोर’ बनाउने भएको छ । यसका लागि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले अध्ययन गर्ने भएको छ । हात्तीको जैविक मार्गको विस्तृत अध्ययन गरी त्यस क्षेत्रको ‘स्याटेलाइट म्यापिङ’ गरी हात्ती कोरिडोर निर्माण गर्न यस्तो प्रयास गर्न लागिएको हो ।

चालू वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै मन्त्रालयले हात्ती–मानव द्वन्द्व न्यूनीकरण गर्न हात्ती कोरिडोरको अध्ययन गरी त्यसको सिमाना पहिचान गर्ने र व्यवस्थापनका लागि रणनीति तर्जुमा गर्ने जनाइएको छ ।

झापाको जलथल क्षेत्रमा पर्ने जंगलमा दर्जनभन्दा बढी रैथाने हात्ती रहेको साथै भारततिरबाट प्रवेश गर्ने हात्तीहरुले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा क्षति पुर्‍याउने गरेका छन् । हात्तीको आक्रमणबाट यी तीन जिल्लामा सर्वसाधारणको ज्यान जाने गरेका घटना पनि बढिरहेका छन् ।

एक महिनायता तीन जिल्लामा हात्तीको आक्रमणबाट सात जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । हात्ती गाउँ पसेर अन्नबाली खाने, नष्ट गरिदिने साथै घरमा समेत क्षति पुर्‍याउने क्रम नरोकिएपछि कतिपय गाउँमा स्थानीय बासिन्दाले हात्ती धपाउन गस्ती गर्ने गरेका छन् ।

केही साताअघि हात्ती प्रभावित क्षेत्रमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले अनुगमन गरेको थियो ।त्यस क्रममा मुख्यमन्त्री कार्कीले हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि हात्ती कोरिडोर बनाउनुपर्ने बताएका थिए ।

टोलीले हात्ती प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग छलफलसमेत गरेको थियो । मुख्यमन्त्री कार्कीले हात्तीबाट हुने गरेको क्षति घटाउन हात्ती कोरिडोर निर्माणदेखि जंगलमै जनावर रोक्न उनीहरूको खाद्यान्न आपूर्ति हुने बोट बिरुवा लगाउने सरकारको तयारी भएको बताएका थिए । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १२:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया