घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्ड

वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारबाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन् । यद्यपि आलोचकहरूले उक्त नीतिले उनलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् । 

सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ । दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ । 

सरकारी प्रसारक सिसिटिभीका अनुसार तियानलाई ‘घुस स्वीकार गरेको’ दोषी पाइएको छ । साथै उनलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ । 

भ्रष्टाचारविरोधी अभियानले आफ्नो ध्यान मुलुकका केही प्रमुख फाइनान्सरहरूमाथि केन्द्रित गरेपछि तियान पहिलोपटक सन् २०२२ अप्रिलमा सार्वजनिक अनुसन्धानको दायरामा आएका थिए । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई घुस लिएको आशंकामा पक्राउ गरिएको थियो । 

जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैंकिङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशंकामा पक्राउ गरिएको थियो । यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय दिइएको थियो । 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार २२:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया