पाकिस्तानमा आमनिर्वाचन : १०१ सिटमा पिटिआई उम्मेदवार विजयी, केन्द्रमा कुनै दलले ल्याएनन् बहुमत

पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा २६४ क्षेत्रको मतगणना सम्पन्न भएको पाकिस्तान निर्वाचन आयोगले जनाएको छ । 

२६६ सिटका लागि भएको निर्वाचनमा २६४ सिटको नतिजा सार्वजनिक हुँदा एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना नै स्थगित भएको छ । २६४ सिटको नतिजा सार्वजनिक हुँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारले उत्साहजनक १०१ सिट जितेको छ ।

पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न दिएको थिएन । निर्वाचन चिह्न नदिए पनि पिटिआईसमर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए । पाकिस्तानको सेनाले समर्थन गरेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नेश्नलिस्ट (पिएमएल–एन) ले भने ७५ सिटमा मात्रै जित हात पार्यो । 

सेनाको समर्थनका बाबजुद पनि पिएमएल–एनदलले बहुमत पाउन सकेन ।  यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जित्दा बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी) ले ४ सिट जितेको छ । चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ । जसमा पञ्जाबमा २९७ सिटका लागि भएको निर्वाचनमा १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

पञ्जाबमा  पिएमएल– एनले १३७ सिट र पिपिपीले १० सिट ल्याएको छ । सिन्धमा पिपिपीले वर्चश्व कायम राख्यो । १३० सिटमध्ये पिपिपीले ८४ सिट जितेको छ । यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट पाए । तर, खेबर पख्तुन्ख्वा प्रान्तमा भने स्वतन्त्र उम्मेदवारले १२२ मध्ये ९० सिट जितेका छन् ।

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा कम्तीमा २३ जनाको ज्यान जाने गरी भएको बम विस्फोटका बाबजुद त्यहाँको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । उक्त प्रान्तमा ५१ सिटका लागि गरिएको निर्वाचनमा पिपिपीले ११, पिएमएल–एनले १०, जमियत उलमा–इ–इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ ।



मतपरिणाम आएसँगै सरकार गठन केन्द्र र प्रान्तमा चर्चाको विषय बनेको छ । केन्द्रमा कुनै पनि दलको बहुमत नआउँदा पाकिस्तानको आगामी प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन । पञ्जाब र बलोचिस्तान दुई प्रान्तमा पनि मतपरिणामले केन्द्रकै अवस्था बनाइदिएको छ । 

बिहीबार भएको आम निर्वाचनमा मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो । कतिपय नेता कार्यकर्तालाई पक्राउ र पत्रकारमाथि समेत कुटपिट भएको समाचार सार्वजनिक हुँदा यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको टिप्पणी भएको छ । 



अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र  हस्तक्षेप गरेको बताउँदै  छानबिनको माग गरेका छन् ।

  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १०:६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया