क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, निकोलसको विकेट कुशलको नाममा
फाइल तस्बिर

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता युवा अलराउन्डर कुशल मल्लले दिलाए । उनले १८.१ ओभरमा निकोलस किर्तनलाई तीन रनमा क्याच आउट गराए ।

नेपाललाई दोस्रो सफलता तीव्र गतिका बलर आकाश चन्दले दिलाए । उनले १३औँ ओभरको अन्तिम बलमा श्रीमन्थ विजेरत्नेलाई २२ रनमा क्याच आउट गराए । नेपाललाई पहिलो सफलता आज डेब्यू गरेकका युवा तीव्र गतिका बलर हेमन्त धामीले दिलाए । 

उनले क्यानडाका ओपनर आरोन जोनसनलाई ४ रनमा पवेलियन फर्काए । हेमन्तले आफ्नो दोस्रो ओभरमै विकेट लिएका हुन् । नेपालले आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपाल र क्यानडाबीचको तेस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । 

नेपालले प्लेइङ–११ मा आज चार खेलाडी परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, आसिफ शेख, रिजन ढकाल, सूर्य तामाङलाई विश्राम दिएर कुशल भुर्तेल, आरिफ शेख, ललितनारायण राजवंशी र हेमन्त धामीलाई मौका दिएको हो ।  

सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जितेको थियो । नेपाल आज तेस्रो खेलमा पनि जित हात पार्दै सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यता पाहुना टोली क्यानडा भने अन्तिम खेलमा जित निकालेर नेपाल भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ ।     

नेपालको प्लेइङ–११ : अनिल शाह (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललितनारायण राजवंशी ।    





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १०:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया