लिग क्रिकेटमार्फत विश्वकप खेल्नसक्ने खेलाडीको खोजी गर्छौँ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छन् । शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहमा उनले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको स्पष्ट पारिन् ।

‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरी सकेको छ,’ उनले भनिन्, ‘विद्यालयस्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ। विद्यालयस्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुर्‍याउँछ ।’ उनले देशमा भएको आर्थिक मन्दीका कारण दुई चरणमा निर्माण गर्ने गरी रंगशालाको निर्माण कार्य अगाडि बढाउन लागेको स्पष्ट पारिन् ।

पहिलो चरणमा तत्कालै खेल्न मिल्ने गरी खेल मैदान, प्याभिलियन, टावर र १५ हजार अट्ने प्याराफिट निर्माण हुने र अर्को चरणमा बाँकी रहेको सबै काम हुने प्रमुख दाहालको भनाइ छ । बागमती सरकारले ५३ करोड बजेट सुनिश्चित गरिसकेको र संघीय सरकारले पनि यही अनुपातमा चालू वर्षमा बजेट विनियोजन गर्नेमा विश्वस्त रहेको उनले बताइन् ।

अबको एक हप्ताभित्र रंगशाला निर्माणको टेण्डर आह्वान गर्ने तयारीका साथ कामलाई अघि बढाएकाले छिट्टै निर्माणको काम सुरु हुने उनको भनाइ छ । ‘भरतपुर महानगरपालिका खेलकुदको हबको रुपमा विकास हुँदै गएको छ,’ उनले भनिन्, ‘विशेष गरी क्रिकेटको खेलको हब नै भइसकेको छ। भरतपुरमा दैनिक जसो राष्ट्रियस्तरको खेलकुद भइरहेको छ। नेपालको क्रिकेटको भविष्य राम्रो छ ।’ 

बागमती प्रदेशको आयोजनामा फागुनमा हुने खेलमा ४९ जिल्लाबाट ५ हजारभन्दा बढी खेलाडी र प्रशिक्षकहरू भरतपुर आउन लागेकाले भरतपुर खेलकुदमय हुने उनले जानकारी दिइन् । सन् २०२७ मा नेपालमा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने गरी महानगरले तयारी गर्ने र त्यसको समन्वय गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्यानलाई आग्रह पनि गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नाराका साथ लिगको आयोजना गरेकोमा खुसी व्यक्त गए । रंगशालाको निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद् सकारात्मक रहेको र त्यसका लागि थप प्रक्रिया अघि बढाउने बताए ।



यस्तै, नेपाल क्रिकेट एसोसिएसन (क्यान) का केन्द्रीय सचिव पारस खड्काले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रंगशालामै प्रशिक्षण गर्न सकिने उल्लेख गरे । यो विषयमा क्यान एकदमै सकारात्मक रहेको सचिव खड्काले बताए ।

लिग प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शुक्रबारदेखि लिग चरणको नकआउट खेल सुरु भएको छ । 



  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १७:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया