झण्डै ५० प्रतिशत बिरामीमा देखिँदैन मधुमेहकाे लक्षण
सुगर फ्री भनिएका खाद्यपदार्थ झनै घातक :  डा. भट्टराई

मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायाम, तनावमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन् । डा. भट्टराईले मधुमेहबारे समाजमा भ्रम व्याप्त रहेको भन्दै उक्त भ्रम चिर्न आवश्यक रहेको बताइन् । मधुमेह भएकाले सन्तुलित खानापानमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । 
    
पछिल्लो समय मधुमेहका बिरामीको संख्यासँगै यसको जोखिम पनि बढ्दै गइरहेकोबारे सचेत गराउँदै डा. भट्टराईले मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबमोजिम मात्र खानपान र औषधिको प्रयोग गर्न सुझाव दिइन् । 

'मधुमेह रोगबारे हाम्रो समाजमा धेरै भ्रम र अन्योल छ । हरियो घाँसमा खाली खुट्टा हिँड्नुपर्छ भन्ने कुरा बिरामीले सुनाउनुहुन्छ । यस्ता बिरामीले स्पोर्टस् जुत्ता लगाउन उपयुक्त हुन्छ । धेरै कस्सिएको र असहज हुने जुत्ता नलगाउने, खुट्टाको नियमित सरसफाइमा ध्यान दिनुपर्छ,' उनले भनिन्, 'सुगर फ्री (चिनीरहित) भनिएका चामल, बिस्कुट वा कुनै पनि परिकारले मधुमेह निको हुँदैन । यस्ता विज्ञापनका आधारमा खाना उपभोग गर्नुहुँदैन । यसले फाइदा कम बेफाइदा बढी हुन्छन् ।' 

डा. भट्टराईले बजारमा पाइने सुगर फ्री भनिएका खाद्यान्न खानुभन्दा गाउँघरमा उत्पादित अन्न खानु स्वास्थ्यका लागि स्वस्थकर हुने बताउँदै सरकारले किसानलाई प्रांगारिक उत्पादनमा गर्न प्रोत्साहन हुने किसिमका नीति बनाउनुपर्नेमा जोड दिइन् ।  'मकै, भटमास, गेडागुडी, साग, रेसादार फलफुल सेवन गर्नु पर्दछ,' उनले भनिन्, 'मदिरा, बजारमा पाइने पेय पद्धार्थ, चुरोटलगायत हानिकारक वस्तुको प्रयोग नगर्ने हो भने पनि मधुमेहको जोखिमबाट बच्न सकिन्छ ।'

डा. भट्टराईले मधुमेह वंशाणुत र वातावरण गरी दुई कारणले हुने उल्लेख गर्दै स्वस्थ्य जीवनशैली अपनाउँदा यसको नियन्त्रण गर्न सकिने बताइन् । उनले उच्च मधुमेहले टाउकोदेखि खुट्टासम्मका विभिन्न भागमा असर पार्ने बताउनुभयो । 'मुख्यतः मधुमेहका कारण अन्धोपन, मिर्गौलामा समस्या, मुटुरोग, खुट्टा, खुँडा र पैतलामा समस्या हुने गर्दछ,' उनले भनिन् । 

मधुमेहका बिरामीमा थकाइ, आलस्य, पिसाब धेरै लाग्ने, तौल घट्ने, खुट्टा पोल्ने, मुख सुख्खा हुने, कमजोरी र घाउ छिटो निको नहुने लक्षण देखिने डा.भट्टराईले जानकारी दिइन् । समयमा नै यो रोग नियन्त्रण गर्न सके सक्रिय जीवनशैली अपनाउन सकिने उनले बताइन् । झण्डै ५० प्रतिशत बिरामीमा यसको लक्षण नदेखिने उनको भनाइ थियो ।  

 मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. भट्टराईले मोटो मानिसलाई मात्र मधुमेह हुन्छ भन्ने आम बुझाइ रहेको भन्दै दुब्लो व्यक्तिमा समस्या हुनसक्ने भएकाले सबैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताइन् । 'मधुमेह जुनसुकै व्यक्तिलाई हुनसक्छ । नियमित परीक्षण गराउनु, सन्तुलित खाना खानु, तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम गर्नु नै यसको प्रभावकारी उपचार विधि हो,' उनले भनिन्, 'प्रत्येक व्यक्तिले सकेसम्म वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्दछ ।' 
     
बालबालिकामा टाइप–एक र युवाअवस्थामा टाइप–दुई मधुमेहको समस्या धेरै देखिने डा. भट्टराईको भनाइ थियो ।





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १६:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया