डा. भट्टराईको आह्वान : देशलाई अग्रगतिमा लैजान वैकल्पिक विचार, राजनीति र शक्तिको निर्माण गरौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पुराना दल र तिनका नेताबाट देशलाई अग्रगतिमा लैजान नसकिने ठोकुवा गर्दै देशलाई अग्रगतिमा लैजान वैकल्पिक विचार, राजनीति र शक्तिको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन् । 

नेकपा माओवादीले विधान अधिवेशनमार्फत पारित गरेको आगामी कार्यदिशामा बाबुरामले असन्तुष्टि राख्दै आएका छन् । माओवादीसँग एकता प्रक्रियामा रहेको भनिए पनि बाबुरामका पछिल्ला अभिव्यक्तिले उनी एकताका लागि तयार नरहेको बुझ्न सकिन्छ । 

विभिन्न पार्टीका सांसदहरूले उठाएको प्रश्न र प्रधानमन्त्रीले आइतबार दिएको जवाफबाट पनि मुलुक यथास्थितिमा चलिरहेको देखिएको उनको ठहर छ । सांसदहरूको सनातनी–सतही प्रश्न र प्रम प्रचण्डको झन् बढी सनातनी–कर्मकाण्डी उत्तर सुनेपछि देशमा युवाहरूको सपना किन मर्दै छ र उनीहरू देश छोडेर हिंड्ने प्रवृत्ति किन बढ्दै छ भन्ने बुझ्न अरू सहज भएको उनले बताएका छन् ।

‘फागुन ६ गतेको संसदमा विभिन्न दल आबद्ध सांसदहरूको सनातनी–सतही प्रश्न र प्रम प्रचण्डको झन् बढी सनातनी–कर्मकाण्डी उत्तर सुनेपछि देशमा युवाहरूको सपना किन मर्दै छ र उनीहरू देश छोडेर हिंड्ने प्रवृत्ति किन बढ्दै छ भन्ने बुझ्न अरू सहज भयो,’ उनले लेखेका छन्, ‘अनि पुराना–सनातनी दल र तिनका सिर्जनात्मकता, नैतिकता, लज्जा गुमाइसकेका नेता अब सुध्रनेवाला छैनन् भन्ने पनि घाम झैं छर्लंग भयो।’

‘त्यसो भए के अब देशको अग्रगतिको कुनै बाटो छैन त ? अवश्य छ, हुनुपर्छ र निर्माण गर्नुपर्छ’ भन्दै उनले देशलाई तीव्र अग्रगतिमा लैजाने वैकल्पिक विचार, राजनीति र शक्तिको निर्माण गर्र्न आह्वान पनि गरेका छन् । 

देशलाई तीव्र अग्रगतिमा लैजान निम्न संरचनात्मक–रणनीतिक मुद्दामा केन्द्रित हुनुपर्ने उनले सुझाएका छन् 



१. नेपाली इतिहासमा २००७ साल फागुन ७ गतेदेखि २०७२ साल असोज ३ गते सम्मको जनताको संघर्षबाट प्राप्त संविधानसभा मार्फत निर्मित संविधान र त्यसका आधारतत्वको रूपमा रहेका गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्रको रक्षा गर्दै लोकतन्त्रको निरन्तर थप लोकतान्त्रीकरण र समृद्धीकरण गर्दै जाने।

२. नेपालको संविधानले निर्दिष्ट गरेको ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद’ र ‘ समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र’ लाई देश र दलको राजनीतिक र आर्थिक मार्गनिर्देशक सिद्धान्तको रूपमा अंगीकार गर्ने।



३. स्थीर सरकार र जनउत्तरदायी जनप्रतिनिधिसभाको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिसभा, संसद बाहिरबाट मन्त्रीमण्डल, राष्ट्रपतिलाई महाभियोग, सांसदलाई ‘राइट टू रिकल’ आदिको व्यवस्था गर्ने।

४. राज्यका सबै अंग र दलहरूमा समेत क्यान्सर झैं फैलदै गएको भ्रष्टाचार र कुशासनको अन्त्य गर्न अदालत र संवैधानिक अंग/आयोगको गठन प्रक्रियालाई बढी लोकतान्त्रिक र पारदर्शी बनाउने, उनीहरूलाई बढी अधिकारसम्पन्न,स्वायत्त र जनउत्तरदायी बनाउने; उच्च तहको भ्रष्टाचारको छानवीन र अभियोजन गर्न अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गर्ने।

५. देशलाई केही दशकभित्र आर्थिक रूपले हालको अति कम विकसित स्थानबाट मध्यम विकसित हुॅदै उच्च विकसितको अवस्थामा पुर्याउन कार्यकारी राष्ट्रपतिको मातहत  विश्वका र देशका उच्च स्तरका विज्ञहरूको संलग्नतामा अधिकारसम्पन्न ‘राष्ट्रिय विकास प्राधिकरण’ बनाएर त्यसको मार्गचित्र र योजनालाई संघ,प्रदेश र स्थानीय तह मार्फत अभियानात्मक ढंगले कार्यान्वयन गर्ने।

६. नेपालको सार्वभौमसत्ता,स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा र प्रयोगको निम्ति भारतसंगको सन् १९५० को सन्धी लगायत सबै असमान सन्धी-सम्झौताहरूको खारेजी र समयानुकूल तथा राष्ट्रिय हित अनुकूल आवश्यक सबै देशसंग नयाॅ सन्धी-सम्झौता गर्ने।

  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार २०:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया