ग्राउन्ड जिरोमा स्वास्थ्य सचिवः क्षति निकै ठूलो छ

काठमाडौं— सरकारले बारा र पर्सामा हावाहुरीको वितण्डाबाट घाइते भएकाहरुको उपचारका लागि काठमाडौंका वीर, टिचिङ र ट्रमा सेन्टमार उच्च सतकर्ताका साथ उपचारको व्यवस्था मिलाएको छ । फरकधारसँग कुराकानी गर्दै स्वास्थ्यमन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे यी तीनै अस्पताल हाइ अलर्टमा रहेको जानकारी दिए । 

हावाहुरी प्रभावित क्षेत्रमा सोमबार विहानै मन्त्रीसहितको टोलीमा अवलोकन गर्न पुगेका घिमिरेले टेलिफोनमा भने, ‘हामी अहिले पुरनइँया भन्ने ठाउँमा छौँ, यो सबैभन्दा धेरै प्रभावित क्षेत्र रहेछ । धेरै मानिसहरु हताहत भएका छन्, उपचार भइरहेको छ, उद्धार कार्य पनि चलिरहेको छ ।’

उनले ठूलो क्षति भएको र धेरै घाइतेको कलैया अस्पतालमा उपचार भइरहेको बताए । ‘कलैयाबाट वीरगन्ज र वीरगन्जबाट काठमाडौं बिरामीहरु रिफर भएर लगिएका छन्,’ उनले भने, ‘सबै घाइतेको उपचार सरकारले गर्ने छ, काठमाडौंमा तीन अस्पताल तयारी अवस्थामा राखिएका छन् ।’

उनले आफू हावाहुरी प्रभावित क्षेत्रमा पुग्दा त्यहाँको क्षति अत्यन्त ठूलो भएको अनुमान गरेको पनि बताएका छन् । ‘कतिपय कंक्रिटकै घरहरु पनि ढलेका छन्,’ उनले भने, ‘प्रभावित ठाउँमा कंक्रिटका घरहरु पनि लडेका छन् । पूरै जमीनमा मिसिएका छन् ।’ 

 

मुख्यमन्त्री राउत अस्पतालमा



प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको टोली घाइतेको अवस्था बुझ्न अस्पताल पुगेको छ । आइतबार साँझ आएको हावाहुरीबाट घाइते भएकाहरूको अवस्था बुझ्न राउतसहितको टोली जिल्ला अस्पताल कलैया पुगेको हो । अब उनीहरु त्यहाँबाट वीरगन्ज जाने कार्यक्रम छ ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्रीसहित मन्त्रीहरू स्वास्थ्यकर्मी, खाद्यान्न, लिएर अस्पताल पुगेको मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक दीपक यादवले फरकधारलाई जानकारी दिए । 



त्यस्तै, दीपक यादवका अनुसार मुख्यमन्त्री राउत र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ । राउतले प्रधानमन्त्री ओलीसँग राष्ट्रिय शोकको घोषणा गर्न माग गरेको पनि यादवले जानकारी दिए । 


  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १२:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया