लिग–२ सिरिजमा नामिबियाको तेस्रो जित, नेपालपछि नेदरल्याण्ड्सलाई पनि हरायो

आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले हराएको छ । योसँगै नामिबियाले जारी श्रृंखलामा सर्वाधिक ६ अंक जोड्न सफल भयो । नेदरल्याण्ड्स र नेपालले भने अहिलेसम्म दुई अंक मात्र जोड्न सकेका छन् । 

मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नामिबियाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याउनेक्रममा नेदरल्याण्ड्स ४३.५ ओभरमा १ सय ७९ रनमै अलआउट भयो । 

उसका लागि नोह क्रसले अविजित ४६, म्याक्स ओ’दाउदले ४१, बासडी लीडेले २४ र शिराज अहमदले १९ रन जोडे । बाँकी ब्याटरले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । नामिबियाका लागि जन फ्राइलिन्स र कप्तान जेर्हार्ड इरास्मसले सर्वाधिक तीन/तीन विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबिया ४१.३ ओभरमा २ सय ३ रनमा अलआउट भयो । उसका लागि जन निकोल लोफ्टी-इटनले ४९, मलान क्रुगरले ३९, जान फ्रालिन्स्कले ३४, रुबेन ट्रम्पलम्यानले २३ र जेन ग्रीनले २२ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियन किंग्माले तीन, रोइलोफ भ्यान डेर मर्वे र आर्यन दत्तले दुई/दुई विकेट लिए । जारी श्रृंखलाको अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्नेछन् । 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १७:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया