नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, फाइनलमा पुग्न लेबनानसँग भिड्ने

नेपाली महिला फुटबल टिम समूह चरणको सबै खेल जितेर साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को सानदार जितका साथ नेपाल समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणमा नेपालले तीनवटै खेल जितेर ९ अंक जोड्यो ।   

प्यालेस्टाइनविरुद्ध नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले दुई, रेखा पौडेल र गीता रानाले एक/एक गोल गरे । खेलको ४१औं मिनेटमा सावित्राले नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

उनले रेखा पौडेलले मध्यभागबाट निकालेको बललाईसहजै फिनिसिङ गरिन् । खेलको ६०औं मिनेटमा रेखाले गोल गर्दै नेपाललाई २–० ले अघि बढाइन् । तीन रक्षक र गोलकिपरलाई बिट गर्दै सावित्राले हानेको प्रहार पोष्टमा लागेर फर्किएपछि सोही बललाई रेखाले सिक्स यार्ड बक्सभित्रबाट पोष्टको दिशा दिएकी थिइन् ।

८०औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित नजिक पुर्याइन् । उनले वैकल्पिक खेलाडी रश्मिकुमारी घिसिङले मिलाएको बललाई बक्स भित्रबाट पोष्टको दिशा दिँदै प्रतियोगितामा व्यक्तिगत आठौं गोल गरिन् ।



इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै रक्षक गीता रानाले नेपालको लागि चौथो गोल गर्दै नेपाललाई सानदार जित दिलाइन् । नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो ।



नेपालले अब मंगलबार फाइनल प्रवेशको लागि समूह ‘ए’ को उपविजेता लेबनानको सामना गर्नेछ । यस्तै, अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता जोर्डन र प्यालेस्टाइन भिड्नेछन् ।

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार ६:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया